कोहलपुरका मेयरले फेरि भने, सीडीओले नैतिक रूपमा भ्रष्ट निर्णय गरे



‘यही कुरा हो । नैतिक रूपमा भ्रष्ट निर्णय भएको छ । यो कुरा हाम्रो लागि मान्ने हुँदैन भन्ने मुख्यमन्त्री ज्यूलाई भन्दै शिक्षा, स्वास्थ्य र खेलकुदको विषयमा कोहलपुर नगरपालिकाले लिएको नीतिमा लुम्बिनी प्रदेश सरकार मात्र होइन संघीय सरकारले पनि साथ दिने छ र समन्वय गर्नेछ भन्ने कुरा राख्न चाहान्छु ।’

बाँके ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बाँकेका सीडीओले आफूलाई अञ्चलाधीश सोचिरहेको बताएका छन् । नगर प्रमुख आचार्यले शनिबारबाट कोहलपुरमा सञ्चालनमा आएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै यस्तो बताएका हुन् ।

‘हामीले बनाएका प्रमुख जिल्ला अधिकारीहरू आफूलाई अञ्चालाधीश सोचिरहेका छन्, बन्ने कोसिस पनि गरिरहेका छन्, यो किमार्थ स्वीकार्य हुन सक्दैन ।’ एसईई परीक्षाको केन्द्र तोक्ने कार्यमा बिहीबारमात्रै सरुवा भएका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असहयोग गरेकोप्रति इंगित गर्दै उनले भने, ‘हामीले यहाँको परीक्षा प्रणालीलाई मर्यादित गर्छौँ भन्दै गर्दा आज हामीलाई विभिन्न अवरोधहरू सिर्जना भइरहेका छन्, हामी जनप्रतिनिधिहरूको मनोवल बढ्नुपर्ने हो कि यहाँका केही स्वार्थपूर्ती उद्देश्यका साथ बढिरहेका कर्मचारीको मनोवल बढ्नुपर्ने हो ? यो आजको मुख्य विषय हो ।’

‘यहाँको शिक्षा प्रणालीलाई ध्वस्त पार्नका लागि कसैले राजनीतिक आड लिन्छ, कसैले सामाजिक रूपमा स्थापित व्यक्तित्वका रूपमा प्रभाव पार्छ भने त्यो कुरालाई छोडिने छैन् ।’ नगर प्रमुख आचार्यले लुम्बिनीका मुख्यमन्त्री तथा प्रदेश सांसद लगायतका व्यक्तिहरूमाझ भने, ‘यसका खिलाफमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरू लागिनेछ, यो कुरा माननीय मुख्यमन्त्री ज्यूको सामु मैले यहाँ राख्न चाहेँ ।’

उनले लुम्बिनी प्रदेशका १०९ वटा पालिकामध्ये आफ्नै आन्तरिक स्रोत र वित्तियबाट प्राप्त हुने संघीय अनुदानबाट कोहलपुरका विद्यालयहरूका भवनहरू बनाएर उत्कृष्ट कार्य गर्ने कोहलपुर नगरपालिका मात्र भएको दाबीसमेत गरे । ‘म दाबाका साथ भन्न सक्छु आफ्नै आन्तरिक स्रोत र वित्तियबाट प्राप्त हुने संघीय अनुदान बजेटबाट विनियोजन गर्ने अन्य कुनचाहिँ पालिका छ ? सोधिखोजी गरौँ ।’ उनले भने ।

‘कोहलपुर नगरपालिकाले करोडौँ रूपैयाँ लगानी गरेर आफ्ना सामुदायिक विद्यालयको भवनको स्तरउन्नती गरेर त्यहाँ डेक्सबेन्चको व्यवस्था गरेर त्यहाँ सिसि क्यामरा जडान गर्दा दूधको साक्षि बिरालो भने जस्तै आज त्यस्तै साछि बस्ने खालका केन्द्राध्यक्ष, परिवेक्षक बनाएर यहाँको सीडीओलाई कस्ले दियो केन्द्र तोक्ने अधिकार ? कल्ले दियो हामीलाई नसोधेर ?’ नगर प्रमुख आचार्यले भने, ‘हो थाहा छ । त्यसको अध्यक्षता प्रमुख जिल्ला अधिकारीको हुन्छ । तर, त्यो सँग समन्वय गर्नुपर्ने हामीसँग जवाफदेहिता हुन्न ? यो कुरा सच्चिएर गएन भने यहाँ एसईईको परीक्षा कसरी सम्भव छ ?, यो कुरा पनि गम्भीर रूपमा लिदिन पनि अनुरोध गर्न चाहन्छु ।’

‘यो किन गर्नुभयो भन्दा तत्कालीन प्रमुख जिल्ला अधिकारीले चाहिने सच्याउँछु भन्ने कुरा केही दिनसम्म गर्नुभयो । पछि उहाँको सरुवा भयो । म सीडीओ हुँ । मेरो अधिकार क्षेत्रभित्र पर्छ भन्नु भएको छ । त्यसो भए त सीडीओलाई गोली चलाउने पनि अधिकार छ नी ? गोली कहाँ चलाउने ? अधिकारको प्रयोग कहाँ गर्ने ? दुरुपयोग कहाँ गर्ने ?’ नगर प्रमुख आचार्यले भने, ‘यही कुरा हो । नैतिक रूपमा भ्रष्ट निर्णय भएको छ । यो कुरा हाम्रो लागि मान्ने हुँदैन भन्ने मुख्यमन्त्री ज्यूलाई भन्दै शिक्षा, स्वास्थ्य र खेलकुदको विषयमा कोहलपुर नगरपालिकाले लिएको नीतिमा लुम्बिनी प्रदेश सरकार मात्र होइन संघीय सरकारले पनि साथ दिने छ र समन्वय गर्नेछ भन्ने कुरा राख्न चाहान्छु ।’

स्टाटस हटाउन मेयरलाई चेतावनी 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले आफूमाथि लगाएको आरोपको शिक्षा विकास तथा समन्वय इकाई बाँकेबाट खण्डन गर्न लगाएका छन् । जिल्ला परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका प्रजिअ रिजालमाथि नगर प्रमुख आचार्यले एसईईको परीक्षा केन्द्र तोक्ने क्रममा आर्थिक प्रलोभनमा परी निजी विद्यालयलाई चिट चोराउन सहज हुनेगरी निर्णय गरेको आरोप लगाएका थिए ।

फेसबुकमार्फत लगाइएको उक्त आरोपको खण्डन समन्वय समितिको कार्यालय प्रमुख सदस्य सचिव रहने ईकाईबाट खण्डन गर्न लगाएका हुन् । ईकाईका निमित्त प्रमुखको हस्ताक्षरमा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बिना आधारप्रमाण केही व्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गरि व्यक्तिको चरित्रहत्या गर्ने तथा उक्त सन्दर्भमा गरिएको अपमानजनक कार्यप्रति कार्यालयको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भमा गरिएको अपमानजनक कार्यप्रति कार्यालय खेद प्रकट गर्दछ ।’

साथै उक्त आरोपलाई अफवाह भन्दै सामाजिक सञ्जालबाट हटाउन चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रकट भएजस्तो कुनै कार्य नभएको र परीक्षा केन्द्रसम्बन्धी अन्तिम निर्णय माध्यमिक शिक्षा परीक्षा कक्षा–१० सानोठिमी भक्तपुरद्वारा हुने उल्लेख गरिएको छ । ‘अब उपरान्त यस्ता कपोलकल्पित एवम् मनगढन्ते विषयगत कुरा नगर्न नगराउनका साथै सामाजिक सञ्जालमा राखिएको उक्त आधारहीन अपुष्ट लेख हटाउन हुन सम्बन्धितलाई जानकारी गराइन्छ’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार