श्यामलाल पोखरेल । बुटवल ।
सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको ६६औँ साधारणसभा तथा अधिवेशनका लागि फागुन २४ गते समय तोकिएको थियो ।
संघको अध्यक्ष नेत्र आचार्यसहित वरिष्ठ उपाध्यक्ष दिलिप कान्दु, उद्योग उपाध्यक्ष गोविन्द ज्ञवाली, महासचिव कृष्ण घिमिरे, सचिव मंगल भण्डारी र कोषाध्यक्ष कमल मरासेनी निर्विरोध निर्वाचित भएका छन् । संघको सह कोषाध्यक्ष र वाणिज्य उपाध्यक्षबाहेक सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।
कर्पोरेट उपाध्यक्षमा रोहित अग्रवाल, कर्पोरेट सदस्यमा अरपित अग्रवाल र विकास गोयन्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बस्तुगत सदस्यमा प्रितम रौनियार, महिला सदस्य उद्योगतर्फ विष्णुमाया शर्मा पनि निनर्विरोध निर्वाचित भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको यही फागुन २४ गते निर्वाचनको मिति तोकिएको थियो । निर्वाचन अघि नै १६ गते शुक्रबार मनोनितको समय सकिएको छ ।
मनोनितको समय शुक्रबार सकिएपछि अध्यक्षसहित पदाधिकारी र सदस्य गरी ११ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनको प्रकृया सुरु भएको र सबै पदमा निर्विरोध नभएका कारण निर्वाचन समितिले भने आधिकारिक रूपमा घोषणा गरेको छैन । तर निर्विरोध निर्वाचित भएका अध्यक्ष आचार्यसहित पदाधिकारी र अन्य सदस्यहरूमा कसैले उम्मेदवारी नदिएपछि स्वतः निर्विरोध भएका हुन् ।
अन्य बाँकी रहेका पदहरूमा पनि सर्वसम्मत गराउने प्रयास जारी रहेको बताइएको छ । अध्यक्ष तथा पदाधिकारी, सदस्य र मनोनित गरी ३३ जनाको समिति हुनुपर्ने प्रावधान छ । संघमा ३४ सय सदस्य आबद्ध छन् ।
निर्विरोध निर्वाचित अध्यक्ष नेत्र आचार्य भैरहवामा लामो समयदेखि व्यवसाय गर्दै आएका उद्योगी हुन् । उनले पूर्व अध्यक्षहरू, अग्रज उद्योगी व्यवसायी सबैको सुझाव सल्लाह लिएर सफल रूपमा संघको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्