खजुरा पेडारी नालाको पुल निर्माणका लागि ठेक्का आह्वान



नेपालगन्ज ।

नेपालगन्ज–गुलरिया हुलाकी सडक खण्डमा पर्ने बाँकेको खजुरा बजारको मध्येभागमा रहेको पेडारी नालाको पुल निर्माणका लागि ठेक्का आह्वान भएको छ ।

वर्षाैँदेखि जीर्ण अवस्थामा रहेको पुल निर्माणको काम उक्त बजारको सडक विस्तार गर्दा छुटाइएको थियो । जसकारण पुल जीर्ण भएर दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयबासीहरूले नेताहरूको चर्काे आलोचना गर्दै आएका थिए ।

अहिले हुलाकी राजमार्ग निर्देशनालयले उक्त पुलको ठेक्का आह्वान गरेपछि खजुरा क्षेत्रका जनप्रतिनिधिहरूबीच जस लिने होडबाजी चलेको छ । जसमा प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका किशोरसिंह राठौर र प्रतिनिधि सभा सदस्य एमालेकी दीपा शर्मा अगाडि देखिन्छन् । दुवैले आ–आफ्नो पहलले पुल निर्माणको योजना अघि बढेको भन्दै आफू स्वयम् र कार्यकर्तामार्फत प्रचार गरिरहेका छन् ।

बिहीबार ठेक्काको आवेदन आह्वान गरिएको थियो । करिब ११ करोड लागतमा एक वर्षभित्र निर्माण गरिसक्ने गरी पुल निर्माणको लागि ठेक्का अह्वान गरिएको हुलाकी सडक आयोजनाले जनाएको छ । जुन पुल फोर लेनको हुने र ३४ मिटरभन्दा बढी लामो हुने हुलाकी सडक आयोजना नेपालगन्जका सूचना अधिकारी कृष्ण पाण्डेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार