मानपुरले जित्यो अध्यक्ष कप क्रिकेटको उपाधि



बाँके ।

बाँकेको जानकी गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । जानकी गाउँपालिका वडा नम्वर–३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा दोस्रो अध्यक्ष कप प्रतियोगिता यही फागुन १४ गतेदेखि सुरुभई शुक्रबार सम्पन्न भएको हो । प्रतियोगितामा मानपुर स्पोर्टस् राईजिङ क्लबले उपाधि जितेको छ ।

तसँगै मानपुर स्पोट्र्सले ४० हजार पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने जोगागाउँ स्पोर्टस् क्लबले २० हजार पुरस्कार प्राप्त ग¥यो । गतवर्ष भएको पहिलो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा पनि मानपुर स्पोर्टस् राईजिङ क्लबले नै उपाधि जितेको भाईस क्याप्टेन विवेक कुमार यादवले बताए । यस पटकको दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा पनि पहिलो विजेता भै पुरस्कार पाएर एकदमै उत्साहित भएको उनको भनाइ छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले कार्यपालिका बैठकबाट छलफल गरि खेलाडीहरूलाई पायक पर्ने गरि १ देखि ६ नम्वर वडाको बीचमा खेल मैदान बनाउने आश्वासन दिएका छन् । साथै अध्यक्ष खाँले पहिलो हुने क्लबलाई २१ हजार र बुढियागाउँ पठान पल्टन क्लबलाई ११ हजार पुरस्कार दिने समेत बताए ।

प्रतियोगिताको समापन कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष मो. रजा राई, ३ का अध्यक्ष राजकुमार कुर्मी, ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षा शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारी, झुमीकुमारी वली, पालिकाका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूका साथै स्थानीयको समेत उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार