‘फुटबलको विकास र नयाँ खेलाडी उत्पादन हाम्रो प्रमुख उद्देश्य’



कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा २०७९ देखि सुरु भएको कोहलपुर गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । बाँकेको कोहलपुरमा हरेक वर्ष सञ्चालन हुँदै आएको गोल्डकप बाँके जिल्लाको एकमात्र एन्फा क्यालेण्डर अनुसार सञ्चालन हुने प्रतियोगिता समेत हो । गोल्डकपको सुरुवात, उद्देश्य हालसम्म भएका उपलब्धि र तेस्रो संस्करणका सम्बन्धमा प्रतियोगिताका संयोजक कर्ण बस्नेतसँग मिसन टुडे राष्ट्रिय दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश  :

कर्ण बस्नेत । संयोजक । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप
००००

१. तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको विषयमा जानकारी गराइदिनुहोस् न ?

खेलकुदको प्रवद्र्धन र फुटबलको विकासका लागि स्थापना भएको क्लब हो, कोहलपुर–२ स्थित कोहलपुर रेसिङ साहारा क्लब । यस क्लबको स्थापना वि.स. २०६८ सालमा भएको हो ।

यो क्लब बाँके जिल्ला फुटबल संघसँग आवद्ध छ । क्लबको आयोजनामा वि.स. २०७९ सालबाट गोल्डकप सुरु भएको हो । यसको पहिलो संस्करण प्रथम कोहलपुर गोल्ड कपका नाममा सुरु भएको थियो । २०८० सालदेखि यो प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्ड कपका नाममा सञ्चालन हुँदै आएको छ ।

आजदेखि सुरु हुन लागेको गोल्डकपको तेस्रो संस्करण हो । हामीले यस प्रतियोगितामार्फत स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन र प्रोत्साहनमा समर्पित हुँदै आएका छौँ । क्लबले ग्रासरुट स्तरमा नयाँ खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । फुटबल खेलको माध्यमबाट सामाजिक सहिष्णुता कायम राख्दै, कोहलपुर क्षेत्रलाई फुटबलमय बनाउने, खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आइरहेका छौँ ।

२. कोहलपुर गोल्डकपका उद्देश्यहरू बताइदिनुहोस् त ?

फुटबल विश्वमै सबैभन्दा बढी हेरिने र खेलिने खेल हो । फुटबल बहुआयामिक समेत छ । त्यसैले फुटबलको विकास र नयाँ खेलाडी उत्पादन हाम्रो प्रमुख उद्देश्य रहेको छ ।

प्रतियोगिताका माध्यमबाट खेल पर्यटनको विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यस अलवा खेलकुदका माध्यमबाट कोहलपुरको अर्थतन्त्र चलायमान बनाउने, हरित कोहलपुरको प्रचार–प्रसार गर्ने, स्थानीय खेलाडीलाई अवसर प्रदान गरेर खेलाडी उत्पादन गर्ने र उत्प्रेरणा जगाउने हाम्रो कसरत रहेको छ । खेल संस्कृतिको विकास, विभिन्न खेल पश्चात हरेक टिमलाई बाँके र बर्दियाका पर्यटकीय स्थलहरूमा घुमाएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ ।

लुम्बिनी प्रदेश सरकारले सुरु गरेको घुम्न जाऔँ बर्दिया अभियानलाई समेत गोल्डकपका माध्यमबाट सहयोग गर्ने भन्ने छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै कम खर्चमा पनि गोल्डकप गर्न सकिन्छ भन्ने सन्देश फैलाउने र प्रतियोगितामा देशभरका दर्शक उपस्थित हुने भएकोले कोहलपुरलाई पर्यटन प्रवद्र्धन र खेलकुद पर्यटनको रूपमा विकास गर्ने रहेको छ ।

ग्रासरुटहरूलाई प्रोत्साहन गर्ने यो सुनौलो अवसरसमेत हो । देशीविदेशी खेलाडी आएर यहाँ खेल्दा खेलका माध्यमबाट अघि बढ्न प्रोत्साहनसमेत हुन्छ । खेलका माध्यमबाट जागिर र जिविकोपार्जनसमेत हुन्छ । नयाँ प्रतिभाको खोजी र उत्पादनमा यसले सहयोग गर्छ ।

३. कोहलपुर गोल्डकपले समग्र जिल्लाको खेल पर्यटन प्रवद्र्धनमा कत्तिको भूमिका खेलेको छ ?

यो गोल्डकपको मुख्य उद्देश्य नै खेल पर्यटन विकास गर्ने भन्ने रहेको छ । कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने हाम्रो प्रयास रहेको छ । यतिमात्रै होइन सिंगो बाँके जिल्लालाई समेत पर्यटकीय क्षेत्रका रूपमा चिनाउनको लागि गोल्डकपलाई जोड्ने प्रयास हामीले गरिरहेका छौँ । अर्कातिर अहिलेको जमानामा प्रचार प्रसार मुख्य कुरा रहेछ । त्यसको लागि देशभरका गोल्डकपको प्रत्यक्ष प्रसारण गरिरहेको गोल नेपाल डटकमको युट्युबमार्फत प्रसारण गरेका थियौँ । यसपटक पनि प्रसारण हुन्छ ।

यसले प्रत्यक्ष रूपमा हेर्न नपाउने तथा फुटबलप्रेमी दर्शकहरूलाई प्रविधिको माध्यमबाट हाम्रो प्रचारप्रसारका लागि सहयोग गर्छ । यतिमात्रै होइन यसपटकको गोल्डकपका दुई वटा विदेशी टिम सहभागिता जनाउँदैछन् । उनीहरूका लागि नेपाल नौलो ठाउँ हो । उहाँहरूलाई हामी बाँके र बर्दियाका विभिन्न स्थान घुमाउनेछौँ । खेलाडीका लागि जंगल सफारी गराउने कार्यक्रम रहेको छ ।

यसैगरी प्रदेश सरकारले ‘घुम्न जाऔँ बर्दिया’ भन्ने अभियान सुरु गरेको छ । सो अभियानलाई समेत सघाउ पुग्ने गरेर कर्णाली पुल र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने हाम्रो प्रयास रहेको छ । फाइनलिष्ट टोलीले यो सुविधा पाउनेछन् ।

४. गोल्डकपको तेस्रो संस्करणसम्म आइपुग्दा आयोजक क्लब र सिंगो कोहलपुरले प्राप्त गरेका उपलब्धिहरू के के हुन् ?

कोहलपुर गोल्डकप फुलबलका माध्यमबाट सिंगो पश्चिम क्षेत्रलाई चिनाउने माध्यमको रूपमा रहेको छ । कुनैपनि कामका अल्पकालीन र दीर्घकालीन योजना हुन्छन् । तत्काललाई खेलप्रति आम दर्शकहरूको आषर्कण बढाउने हो । आगामी दिन कोहलपुरमा फुटबल खेलाडीको उत्पादन गर्ने रहेको छ ।

तपाईँलाई म जानकारी गराउन चाहान्छु । पहिलो र दोस्रो संस्करणमा हामीले बाहिरका खेलाडी ल्याएर आयोजक क्लबले खेलेको थियो । मलाई आम दर्शकले प्रश्न गर्नुभयो, आयोजक टिममा स्थानीय खेलाडीहरूलाई किन सहभागी नगराउनु भएको रु त्यो कुरा स्वाभाविक थियो । किनभने हाम्रोमा फुटबलको संस्कृति विकास भइसकेको छैन ।

त्यसैले रेसिङ साहारा क्लबले स्थापनाकालदेखि ग्रासरुट फुटबललाई प्राथमिकता दिइरहेको छ । अहिले हाम्रा खेलाडी उमेर समूहमा खेल्न सुरु गरिसकेका छन् । आगामी केही संस्करणदेखि उनीहरू नै हाम्रो टिमका खेलाडी हुन्छन् । अहिले हामी खेलाडी उत्पादन पनि गरिरहेका छौँ गोल्पकपलाई समेत बृहत् रूपमा अघि बढाइरहेका छौँ । अर्कातिर हामी लुम्बिनी प्रदेशमै ‘ए’ डिभिजन क्लब हौँ ।

अर्को उपलब्धि भनेको हामी देशभर हुने मोफसलका फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेका छौँ । त्यो कुरा यही गोल्डकपकै कारण हो । यस्तै यहाँको स्थानीय सरकारले खेलकुदमा भरपुर लगानी गरेको छ । यसको एक उदाहरण गोल्डकप समेत हो । यतिमात्रै होइन जिल्ला तथा प्रदेश स्तरमा हुने प्रतियोगितामा कोहलपुरका खेलाडी च्याम्पियन बन्दै आएका छन् । गोल्डकपले कोहलपुरमा फुटबलको माहौल सिर्जना गरेको छ ।

५. गोल्डकपको मुख्य प्रायोजक र संरक्षक अन्य पाटर्नरहरू को–को छन् ?

प्रतियोगिताको मुख्य आयोजक कोहलपुर रेसिङ साहारा क्लब रहेको छ । गोल्डकपको मुख्य प्रवद्र्धकको रूपमा कोहलपुर नगरपालिका रहेको छ । प्रवद्र्धकका रूपमा प्रदेश खेलकुद परिषद् लुम्बिनी रहेको छ । गोल्डकपको संरक्षकको रूपमा नेपालगन्ज उपमहानगरपालिकासहित, नरैनापुर, जानकी, खजुरा, बैजनाथ, राप्ती सोनारी र डुडुवा गाउँपालिका रहेका छन् ।

मुख्य प्रायोजकका रूपमा नेपाल टेलिकम रहेको छ । प्रायोजकका रूपमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, दुगड, डल्फिन ग्रुप रहेका छन् । स्थानीय सहयोगीका रूपमा प्याव्सन, एन प्याव्सन, स्थानीय व्यवसायी रहेका छन् ।

यातायात पाटर्नरका रूपमा बागेश्वरी यातायात समिति, इन्स्सोरेन्स पाटर्नरका रूपमा सलिको इन्स्सोरेन्स र होटल पाटर्नरका रूपमा होटल हिल्स दशबिगाह रहेको छ । गोल्डकपको गोल नेपालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ । गोल्डकपका यसअघि दुई वटा संस्करण सम्पन्न भइसकेका छन् ।

६. फुटबल भन्ने बित्तिकै दर्शक जोडिन्छन् । यस संस्करणमा दर्शकका लागि के कस्ता व्यवस्था छन् ?

कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा हुने यो तेस्रो संस्करण हो । यसअघि हामीले दुई वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । यो गोल्डकप सफलताको पछाडि दर्शकहरूको एकदमै ठूलो साथ र समर्थन रहेको छ । यसपटक पनि हामीले त्यही कुराको अपेक्षा राखेका छौँ । पहिलो र दोस्रो संस्करण दर्शकहरूका लागि सःशुल्क नै थियो । दोस्रो संस्करणमा हामीले अस्थायी प्याराफिटको व्यवस्था गरेका थियौँ ।

त्यसले दर्शकलाई निकै राहत मिलेको थियो । एक सय रूपैयाँको टिकट थियो । यसपटक पनि गोल्डकप हेर्न आउनको लागि टिकटको व्यवस्था गरिएको छ । यसपटक प्याराफिट भने हुनेछैन । देशभर गोल्डकप चलिरहेका कारण अस्थायी प्याराफिट पाउन नै सकिएन । तर यसपटकपनि बर्दिया र सुर्खेतसहित स्थानीय दर्शकको भरपुर माया पाउने आशा गरेका छौँ ।

७. गोल्डकपमा कति टिम सहभागी हुँदैछन् ?

गोल्डकपमा घाना र भारतका गरेर दुई विदेशीसहित आठ टिमको सहभागिता रहेको छ ।

गोल्डकपमा सहभागी हुने टिमहरूमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, प्लानिङ व्वाईज युुनाइटेड क्लब काठमाडौँ, भारतको साहारा क्लब, अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, काँक्रेबिहार फुटबल क्लब सुर्खेत, राइनो फुटबल क्लब गण्डकी, राइजिङ स्टार फुटबल क्लब नवलपरासी रहेका छन् । सम्पूर्ण टिमको खर्च व्यवस्थापन आयोजकले नै गर्छ ।

८. गोल्डकपमा के कस्तो पुरस्कारको व्यवस्था रहेको छ ?

कोहलपुर रेसिङ साहारा क्लबद्धारा आयोजित तेस्रो मुख्यमन्त्री गोल्डकप बाँके जिल्लामै सबैभन्दा ठूलो धनराशि भएको फुटबल प्रतियोगिता हो । यो प्रतियोगितामा स्थापनाकालदेखि विभिन्न देशीविदेशी खेलाडी र क्लबको सहभागिता रहेको छ । पुरस्कार विषयमा भन्नुपर्दा गोल्डकपको उपाधि बिजेताले नगद आठ लाख रूपैयाँ पुरस्कार पाउनेछ । उपविजेता हुने टोलीले चार लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

म्यान अफ दि टुर्नामेन्ट हुनेलाई ५१ हजार रूपैयाँ प्रदान गरिनेछ । यो व्यक्तिगत उपाधि हो । यसले खेलाडीलाई थप प्रोत्साहन हुने हामीले विश्वास लिएका छौँ । बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०-१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।

९. अन्त्यमा, कोहलपुर गोल्डकप सफल पार्नको लागि सम्पूर्ण फुटबलप्रेमी दर्शकहरूलाई के अपील गर्नुहुन्छ ?

सम्पूर्ण बाँकेबासी र कोहलपुरबासीलाई आयोजकका तर्फबाट गोल्डकप हेर्न आइदिन आह्वान गर्न चाहन्छु । यो गोल्डकप एउटा क्लबले आयोजना गरेको हो । तर, यो सम्पूर्ण जिल्लाबासीहरूको साझा प्रतियोगिता हो । यसलाई सबैले आफ्नो सम्झेर अपनत्व लिइदिनको लागि म अनुरोध गर्न चाहान्छु । यसलाई हामीले लामो समयसम्म लैजान चाहान्छौँ ।

त्यसले सम्पूर्ण दर्शकहरूलाई टिकट काटेरै भएपनि खेल मैदानमा उपस्थित भएर खेलाडी र आयोजकको हौसला बढाइदिन आग्रह गर्दछु । कोहलपुरलाई खेल पर्यटनको केन्द्र र खेलकुद सहरको रूपमा विकास गर्ने अभियानमा सबैले हातेमालो गरौँ भन्न चाहान्छु ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार