कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–२ स्थित एभरेष्ट सैनिक सेकेन्डरी स्कुलले ३०औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार एक समारोहकाबीच विविध कार्यक्रमको आयोजना गरेर विद्यालयले वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको संघीय सांसद सूर्यप्रसाद ढकालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले गुणस्तरीय शिक्षाका लागि अभिभावक, विद्यार्थी र शिक्षकको त्रीपक्षिय सम्बन्ध आवश्यक रहेको बताए ।
बाँके जिल्लामा रहेका विद्यालयहरूमध्ये एभरेष्ट सैनिक विद्यालयले पनि आफूलाई अब्बल रूपमा प्रमाणित गरेको भन्दै उनले विद्यालय परिवार निरन्तर विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि लागिपरेको बताए । विद्यार्थीहरूको चौतर्फी विकास गर्न विद्यालयले गरेको अतिरिक्त क्रियाकलाप र शैक्षिक प्रदर्शनीको उनले प्रशंसा गरे । विद्यालयले राम्रो शैक्षिक वातावरण बनाउन सकेमात्र विद्यार्थीहरूलाई पठनपाठन गर्न सहज हुने उनले बताए ।
योग्य, इमान्दार र दक्ष शिक्षकहरू मात्र नभई अभिभावकहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । विद्यालयमा भइरहेका गतिविधिहरूका बारेमा अभिभावकहरू पनि जारकार हुनसमेत उनले आग्रह गरे । शिक्षकहरूले पनि विद्यार्थीहरूका राम्रा नराम्रा आनिबानी चिनेर सोही अनुसार पठनपाठन गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरूले पु¥याएको योगदानको सरकारले सम्मान गर्नुपर्ने बताए ।
विद्यालयका प्रबन्धक सञ्चालक एवम् प्रधानाध्यापक महेन्द्र शर्माले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले विद्यालयले अनेकौँ कठिनाइ पार गर्दै ३०औँ वार्षिकोत्सव मनाउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए । एभरेष्ट सैनिक स्कुल पठनपाठन र अतिरिक्त क्रियाकलापको हिसाबले आफूलाई अब्बल दर्जा गराउन लागिपरेको कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले बताए । उनले अभिभावकलाई बालबालिकाहरूले वर्षभर गरेका उपलब्धि र उनीहरूका कला क्षमताहरू हेरेर मात्रै घर जान आग्रह गरे । एसईई नजिकिँदै गरेकाले त्यसतर्फ विशेष ध्यान दिएर उतकृष्ट नतिजा ल्याइ आफूलाई प्रमाणित गर्ने समय पनि आएको उनले बताए ।
विद्यालयका अध्यक्ष कृष्ण भुषालले विद्यालयलाई विश्वास गरेर आफ्ना बालबालिका विद्यालयमा पठाएको भन्दै अभिभावकलाई धन्यवाद समेत दिए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलापमा जोड दिएको बताए । अतिरिक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई उनीहरूको प्रोत्साहन स्वरुप पुरस्कार तथा सम्मान गरिएको उनले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरूले विविध नृत्य तथा विज्ञान प्रदर्शनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्