स्वर्गीय वीरेन्द्र स्मृित क्रिकेटः सी युवा क्लबको विजयी सुरुवात



कोहलपुर ।

स्वर्गीय वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको छ । कोहलपुर– ३ किरणनाला निवासी स्वर्गीय वीरेन्द्र शाहीको स्मृतिमा कोहलपुर– २ मा रहेको युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा तेस्रो संस्करण अन्तर्गत खुल्ला टि– २० क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतिगोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरण गौतमले लुम्बिनी प्रदेशलाई खेलकुदको हब बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले चालू आर्थिक वर्षमा खेल क्षेत्रका लागि न्यून बजेट भएकाले प्रदेशभरी हुने खेलकुदमा खर्च व्यवस्थापन गर्न नसकिएको बताए । आगामी वर्षमा खेल क्षेत्रका लागि उल्लेख्य बजेट विनियोजनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जानकारी दिए ।

उद्घाटन खेलमा बिहीबार सिएम ११ कोहलपुर र सी क्लब नेपालगन्जबीच सम्पन्न भएको थियो । स्वर्गीय वीरेन्द्र शाही स्मृति खुल्ला टि– २० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा सी युवा क्लब नेपालगन्जले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा सी युवा क्लब नेपालगन्जले दिएको १२३ रनको लक्ष्य पछ्याएको सिएम एघार युवा क्लब दाङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रनमा समेटियो । योसँगैे सी युवा क्लब नेपालगन्ज १० रनले विजयी भएको हो । सिएम एघार युवा क्लबका लागि नवराज शाहीले सर्वाधिक ३५ रन बनाएका थिए भने आकाश खत्रीले २९ रन बनाएका थिए ।

सी युवा क्लब नेपालगन्जका अजय शाहानीले सर्वाधिक ३ विकेट लिए भने निशान्त आचार्य र सौगात खत्रीले समान २–२ विकेट लिएका थिए । टस जितेर पहिला ब्याटिङ गरेको सी युवा क्लब नेपालगन्जले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । सी युवा क्लब नेपालगन्जका लागि अनिल गिरीले सर्वाधिक २२ रन बनाएका थिए । शुसान्त शाहीले २०, विनायक गिरीले १९ र सौगात खत्रीले १३ रन प्रहार गरेका थिए ।

सिएम एघारका बलर अस्मित शाहीले ४, विष्णु शाहीले २ विकेट लिए । नकआउट चरणमा खेलिने खेलमा सिएम एघारले हार व्यहोरेसँगै स्वर्गीय वीरेन्द्र शाही स्मृति खुल्ला टि २० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेल फागुन १७ गते बिहान ९ बजे नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र भिक्ट्री भाईपर नेपालगन्जबीच हुने खेल संयोजक सुमन गुरुङले जानकारी दिए । ८ वटा टिम सहभागी उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गतेसम्म हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार