नदी कटानले ३ वटा बस्ती जोखिममा



रूकुमपश्चिम ।

जिल्लाको आठबिसकोट नगरपालिका–६ का ३ वटा बस्ती ठुलीभेरी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा छन् । त्यहाँको खेतीयोग्य जमिन बगाएर बगरमा परिणत हुुनेक्रम बढेको छ ।

उक्त वडाका ज्यामिरे, मन्का र दामाचौर बस्ती नदीको कटानले पहिरोको उच्च जोखिममा रहेका हुन् । भने नदी छेउका खेतीयोग्य जमिन बगाएको हो । बर्षाको समयमा आएको पहिरोले ठुलीभेरी थुनिएपछि बस्तीतिर ढल्किएको र नदीले कटान क्षेत्र बढाउँदै लगेपछि थप जोखिम बढ्दै गएको हो ।

वडा नं. ६ का वडाध्यक्ष धनेश्वर शर्माका अनुसार रूकुमपश्चिम, जाजरकोट र डोल्पाको सिमा नजिकैका यी बस्ती नदीको कटान र पहिरोको जोखिममा रहेका छन् । जाजरकोटतर्फको फम्दा लेकबाट गत वर्ष आएको पहिरोले नदी थुनिएपछि धार परिवर्तन गरेर बस्तीतर्फ आउँदा गाउँ नै जोखिममा रहेको उनले बताए । उनका अनुसार ज्यामिरे गाउँका २० घर पहिरोको उच्च जोखिममा रहेका छन् । भने ३१ घर जोखिममा रहेका छन् ।

त्यसैगरी मन्काबगरमा रहेका ५५ घर र दामाचौरका करिब ५० घर पनि पहिरोको जोखिममा छन् । नदीले धार परिवर्तन गर्दा ज्यामिरे गाउँतर्फको करिब ६०० मिटर चौडाइ र १० मिटर लम्बाइ भएको जमिनको भाग बगाएको छ । ठूलो मात्रामा केरा र मकै खेती गरिएको जमिन अहिले बगर बनेको छ ।

ज्यामिरे गाउँका नन्दबहादुर बोहोराले लगातारको कटानका कारण गाउँ नै पहिरोसँगै नदीमा मिसिने उच्च जोखिम रहेको बताए । २०५७ सालयता हरेक वर्ष पहिरोले केही घर र खेतीयोग्य जमिन बगाउने गरेको उनको भननाइ छ ।
गत वर्ष मात्रै कालिका आधारभूत विद्यालयको भवनसहित १३ घर बगाएको थियो । २०७६ सालमा पनि मन्काबगरका १२ घर पहिरोले नदीमा मिसाएको थियो । क्षति भएकामध्ये ५ वटा घर सरकारले निर्माण गरिदिएको छ । भने ७ घर अलपत्र छन् ।

दामाचौरका नेत्रबहादुर शाहीले पनि हरेक वर्ष नदीले खेतीयोग्य जमिन बगाउने गरेको बताए । सल्लेतरा र त्रिवेणी गाउँका खेतीयोग्य जग्गा बगाउँदा स्थानीयले ठूलो नोक्सानी बेहोर्दै आएको उनको भनाइ छ । स्थानीयले बलियो तटबन्धनको माग गर्दै आएको तर सुनुवाइ हुन नसकेको उनले गुनासो गरे ।

वडाध्यक्ष शर्माले यो ठाउँ भेरी कोरिडोरको क्षेत्रमा पर्ने भएकाले त्यहाँपनि तटबन्धनको माग गरिएको जानकारी दिए । नापजाँचसमेत गरिसकेकाले योजना निर्माण हुने आशा जागेको उनको भनाइ छ । यसअघि नगरपालिका, जिल्ला प्रशासन, प्रदेश सरकार लगायतका विभिन्न निकायमा जोखिमपूर्ण बस्ती जोगाउन माग गर्दै निवेदन दिएको तर सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

यता प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले स्थानीयले तटबन्धनको माग गरेको बताए । क्षतिको आकलन र स्थानीयको मागका आधारमा सम्बन्धित निकायमा तटबन्धन निर्माणका लागि पहल गरिने उनले जानकारी दिए । स्थलगत अध्ययनका क्रममा बस्तीहरू उच्च जोखिममा रहेको र नदी कटानले खेतीयोग्य जमिनसमेत बगाएको पाइएको उल्लेख गर्दै तत्कालका लागि सर्तकता अपनाउन उनको सुुझाव छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार