मुगु ।
रारा तालको किनारमा रहेको डाँफे होटेलमा आगलागी हुँदा काठै काठको संरचनाले बनेको ४ वटा भवन जलेका छन् । बुधबार राति १२ बजेतिर आगलागी भएको प्रहरीले बताएको छ ।
आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना, निकुन्ज रक्षक, कर्मचारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए । राति १२ बजे नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली रारा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार होटेलको भान्साबाट आगलागी सुरु भएको थियो । भान्सामा रहेका खाना पकाउने ग्यास पड्कदा अन्य ३ वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्णरूपमा खरानी भएका छन् ।
रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटलबाट उद्दार गरी प्रहरी, सेना र सशस्त्र प्रहरीले नजिकै रहेका माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक, निुकञ्ज कार्यालयमा सारिएको थियो । ४ वटा भवन, त्यहाँ रहेका लजिङ्गका सामान, होटेलका सामानहरू पूर्ण रूपमा जलेर खरानी भएकाले करोडौँ रूपैयाँ बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले घटनाको अध्ययनपछि मुचुल्का समेत क्षतिको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । रारा ताल घुम्न आउने पर्यटकका लागि रारा किनारमा रहेको एक मात्र होटेल थियो । रारामा डाँफे होटेल र हिरिटेज होटेल रहेपनी ३ वर्ष पहिला पनि हिरिटेज होटेलमा आगलागी हुँदा अहिले सोचे जस्तो सेवा दिन सकिरहेको छैन ।
गए राति अर्को डाँफे होटेलमा आगलागी भएकोले अब रारा घुम्न आउने पर्यटकहलाई रारा ताल किनारमा बास बस्न असहज हुने भएको छ । अब पर्यटकले रारा ताल घुमेर बास बस्न माझघट्ट, सल्लेरी, लामाचौर र मुर्माटप जानु पर्नेछ । आगो बिहीबार बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो ।









प्रतिक्रिया दिनुहोस्