विद्युत् नियमित नआएपछि महिला आन्दोलित



हुम्ला ।

जिल्ला सदरमुकाम सिमकोटबासी विद्युत् लोडसेडिङको मारमा परेपछि यहाँका महिला आन्दोलित भएका छन् ।

बिहीबार माथिल्लो बजारमा रहेको विद्युत् कार्यालयमा पुगेर सिमकोट गाउँपालिका–५ तल्लो गाउँका महिला आन्दोलित भएका हुन् । तल्लो गाउँमा विद्युत् लोडसेडिङको मार बढ्दै गएका कारण कार्यालयमा पुगेर उनीहरूले आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी सिमकोट गाउँपालिका–५ तल्लो गाउँका स्थानीय काली रोकायाले सधैँ बिहान र दिउँसो लोडसेडिङ हुुने गरेको उल्लेख गर्दै राति नचाहिने समयमा बाह्र बजेदेखि बिहान चार बजेसम्म बत्ती आउने गरेको बताइन् ।

‘आवश्यक परेको बेला विद्युत् लाइन कटौती हुन्छ । बेलुका खाना खाने समयमा पनि बत्ती आउँदैन्’ उनले भनिन्, ‘बिहानको खाना खाने समयमा पनि बत्ती आउनुप¥यो ।’ सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँमा मात्रै लोडसेडिङ बढी हुने रोकायाले बताइन् । हेल्दुम वितरण केन्द्रले सदरमुकाम सिमकोट बजारमै लोडसेडिङ तालिकाकम राखेर पक्षपात गरेको अर्का स्थानीय कालिका रावतको आरोप छ । उनले भनिन्, ‘तल्लो, माथिल्लो गाउँमा विद्युत् कम आउँछ । बजारमा रहेका कार्यालयसहित अन्य बजारबासीमा समेत विद्युत् लाइन नियमित आउँछ ।’

हेल्दुम वितरण केन्द्रले सदरमुकाम बाहिरका गाउँ ठेहे, बरगाउँ, लिमाटाङ, बुराउँसे, छिप्रा, माजा, छिप्रा, स्याडा, चौगनफया, डाडाफया लगायतका बस्तीमा नियमित विद्युत् छोड्ने तर तल्लो गाउँ र माथिल्लो गाउँमा मात्रै नछोड्ने गरेको भन्दै उनले आक्रोश पोखिन् ।

त्यसैगरी विद्युत् कटौती गर्ने डिउटीमा बसेका कर्मचारीले आफ्नो मनलाग्दी बत्तीको लाइन छोड्नुका साथै समयतालिका अनुसार नछोड्ने र आफन्त बस्ने क्षेत्रमा बढी लाइन छोड्ने गरेको आन्दोलित महिलाहरूको भनाइ थियो । तल्लो गाउँका महिला आन्दोलनमा पुगेको समयमा विद्युत् कार्यालयका प्रमुख जीतेन्द्र शाहले यो विषयमा आफूले तत्काल कर्मचारीसँग छलफल गरी कमजोरी भए पत्ता लगाएर समस्याको समाधान गर्ने आश्वासन दिए ।

शाहका अनुसार खोलामा पानी हिउँदको समयमा कम आउने भएका कारण पनि लोडसेडिङको मारमा सेवाग्राही पुगेका हुुन् । सदरमुकाम सिमकोटबासीले हिउँदको समयमा झण्डै १४ घण्टा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार