कोहलपुर (बाँके) ।
कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा भोलिदेखि कोहलपुरमा सुरू हुने ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप’को तयारी पूरा भएको छ ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतका अनुसार गोल्डकप फागुन १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । गोल्ड कपको फागुन १७ गते दिउँसो १ः३० बजे उद्घाटन हुनेछ । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको भव्य समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
गोल्डकपमा घाना र भारतका गरेर दुई विदेशीसहित आठ टिमको सहभागीता रहेको छ । गोल्डकपमा सहभागी हुने टिमहरूमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, प्लानिङ व्वाईज युुनाइटेड क्लब काठमाडौँ, भारतको साहारा क्लब, अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, काँक्रेविहार फुटबल क्लब सुर्खेत, राइनो फुटबल क्लब गण्डकी, राइजिङ स्टार फुटबल क्लब नवलपरासी रहेका छन् ।
‘गोल्ड कपको तयारी पूरा भइसकेको छ । सबैलाई आमन्त्रण गरिसकेका छौँ । नयाँ तयारीसमेत पूरा भइसकेको छ । अब हामी उद्घाटन र खेल सञ्चालनका लागि तयार छौँ’ बस्नेतले बिहीबार मिसन टुडेसँग भने । गोल्डपका यसअघि दुई वटा संस्करण सम्पन्न भइसकेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख, दोस्रो हुनेलाई चार लाख, म्यान अफ दि टुर्नामेन्ट हुनेलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०÷१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।
यस्तै तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिगाह खेल मैदानमा सञ्चालन हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर बाँकेले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको दुई समूहमा विभाजन गरेर तालिका सार्वजनिक गरिएको छ ।
आयोजकका अनुसार कोहलपुर गोल्डकपमा दुई विदेशी टिमसहित कुल आठ टोलीको सहभागिता रहने भएको छ । पहिलो उद्घाटन खेल १७ गते समूह ‘क’ अन्तर्गत आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब र लुम्बिनी फुटबल एकेडेमी घोराही दाङबीच हुने तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार दोस्रो खेल १८ गते समूह ‘ख’ अन्तर्गत साहारा फुटबल क्लब भारत र राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ । यस्तै १९ गते समूह ‘क’ अन्तर्गत तेस्रो खेल प्लानिङ्ग ब्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकी प्रदेशबीच हुनेछ । समूह ‘ख’ अन्तर्गत अन्तिम चरणको अफ्रिकन राष्ट्र घानाको फुटबल क्लब र काक्रेबिहार फुटबल क्लब सुर्खेतबीच हुने संयोजक बस्नेतले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्