श्यामलाल पोखरेल । बुटवल ।
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १५औँ स्थापना दिवस मनाइएको छ । साताव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरी बिहीबार मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आमजनतालाई सहज स्वास्थ्यको पहुँचमा पुराउने गरी स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गरिने बताए । उनले जनतालाई स्वास्थ्य सेवा दिनका लागि प्रदेश सरकारले भौतिक पूर्वाधारको विकाससँगै गुणस्तरीय जनशक्तिको व्यवस्थापन गरी स्वास्थ्य सेवालाई छिटो छरितो बनाउने विषयमा सरकारको ध्यान केन्द्रित भएको बताए ।
मन्त्री सारुले सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा सुधार तथा विस्तारका लागि सरकार सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गरे । मन्त्री सारुले लुम्बिनी प्रादेशिक अस्पतालसँग प्रदेश र प्रदेश बाहिरका धेरै जनता जोडिएकाले स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन अस्पताललाई निर्देशन गरे । स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको बताउँदै सेवाग्राही धेरै सचेत भैसकेकाले अब कुनैपनि कमजोरी नहुने गरी स्वास्थ्य सेवा दिनुपर्नेमा उनले जोड दिए ।
मन्त्री सारुले सेवाग्राहीसँग मुस्कानसहितको व्यवहार देखाउन आग्रह गर्दै भने, ‘प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनको निर्माणको थालनी गरेको हो । यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक छ ।’
नीजि स्वास्थ्य संस्थाहलाई सरकारले नियमन गर्न सुरु गरेको उल्लेख गर्दै कतिपय निजी स्वास्थ्य संस्थाहरूले दर्ता र सूचीकरणसमेत नगरी सञ्चालन गरिएकाले त्यस्तालाई नियमन गरेर प्रक्रियामा लैजाने मन्त्री सारुले बताए ।
प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले लुम्बिनी प्रादेशिक अस्पतालको विकासले समग्र लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको विकास हुने बताए । उनले स्वास्थ्य सेवालाई अझै गुणस्तीय बनाउनु पर्ने र आधारभूत स्वास्थ्य सेवाको विस्तार र विशिष्टिकृत सेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालामा सेवाग्राहीको चाप रहेको र आवश्यकता अनुसार जनशक्ति र संरचनाको अभाव रहेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा मुलुककै पहिलो भएको उल्लेख गर्दै अस्पताल भित्रका हरेक समस्या समाधान गर्न अस्पताल विकास समिति, प्रशासन र विभागीय प्रमुखबीच समन्वय भैरहेको र हुनुपर्ने उनले बताए । उनले अस्पतालको नयाँ बन्दै गरेको भवनबाट कसरी सेवा प्रदान गर्ने अहिलेदेखि नै तयारी गर्नुपर्ने र यस विषयमा सबैले चासो राख्न आग्रह गरे ।
अस्पताल विकास समिति सदस्य लक्ष्मी भट्टराईले अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएकाले उचित व्यवस्थापनमा सरकारको ध्यान जान आवश्यक रहेको बताइन । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.ईन्द्र ढकालले वार्षिक प्रगति प्रतिवेदनबारे जानकारी गराउँदै प्रदेश सरकारको मातहतमा आएपछि अस्पतालले धेरै राम्रा कामहरू गरेको बताए । मेसु ढकालले अस्पतालका सबै स्वास्थ्य सेवाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी गराउँदै अस्पतालले वार्षिक साढे ३ लाखलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको बताए ।
अस्पतालले २५ वर्ष सेवा अवधि पूरा गरेका तथा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ । सप्ताहव्यापी कार्यक्रममा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजेता बनेकाहरूलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरिएको छ । अस्पतालका गतिविधि समेटिएको स्मारिका ‘जिवक–३’ विमोचनसमेत गरिएको थियो ।
अस्पतालका अध्यक्ष अजय श्रेष्ठको अध्यक्षता र प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अस्पतालको स्तरोन्नति गरी १२ तले अत्याधुनिक भवन बनाउने काम भैरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्