मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने



नेपालगन्ज ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट मुस्लिमहरूको संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन नेपालगन्जमा हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख २१ र २२ गते सातौँ महाधिवेशन नेपालगन्जमा हुने जनाएको हो ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य मो. हारुन हल्वाईले २०४८ सालमा स्थापित नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन आगामी वर्ष वैशाख २१ र २२ गते नेपालगन्जमा हुने जानकारी दिए । उनले महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए । कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले विशेष अतिथिका रूपमा राजनीतिक प्रशिक्षण दिने उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठनका कोषाध्यक्ष तथा महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खाँले अधिवेशन सफल बनाउनका लागि १३ वटा उपसमिति निर्माण गरी तयारी तीव्र पारिएको बताए । उनले महाधिवेसनमा ४२ जिल्लाबाट ६०० प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै महाधिवेशनलाई सफल बनाउनका लागि पत्रकार, बुद्धिजीवी, बाँकेबासी आमनागरिक, अन्य आस्थाका संगठनलाई आवश्यक समन्वय र सहयोग गरिदिनका लागि आग्रह गरे ।

मुस्लिम इत्तेहाद संगठनले मुस्लिम समुदायको पक्षमा पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित, समुदायको अधिकारका लागि वकालत गर्ने संगठन भएको र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा बहस चलाई समुदायका हक अधिकार सदनदेखि सडकसम्म पु¥याउने कार्य गरिरहेको नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष सफिक नद्दाफले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य ढकाल र मुस्लिम अगुवा शकिल कादरी लगायत मुस्लिम नेताहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार