जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले लुम्बिनी र कर्णालीका विभिन्न जिल्लाहरूका लागि बिक्री वितरण गर्न केन्द्रबाट आवश्यक पाठ्यपुस्तक नेपालगन्ज आइसकेको बताए ।
नेपालगन्ज (बाँके)।
नयाँ शैक्षिक सत्र सुरु हुन अझै डेढ महिना बाँकी छ । तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८२ का लागि छापेको पाठ्यपुस्तक भने नेपालगन्ज आइसकेको छ । लुम्बिनी र कर्णालीका विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तकहरू विक्री वितरण गर्नका लागि समय भन्दा करिब डेढ महिना अगाडि नै लिमिटेडको नेपालगन्जस्थित गोदाममा उक्त पाठ्यपुस्तक आइपुगेको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले लुम्बिनी र कर्णालीका विभिन्न जिल्लाहरूका लागि बिक्री वितरण गर्न केन्द्रबाट आवश्यक पाठ्यपुस्तक नेपालगन्ज आइसकेको बताए । केन्द्रबाट प्राप्त भएका पुस्तकमध्ये पहिलो चरणमा कर्णालीको जिल्ला हुम्लाका लागि वितरण भइसकेको उनले जानकारी दिए ।
कर्णाली र लुम्बिनीका जिल्लाहरूमा वितरण गर्नका लागि फागुनको पहिलो हप्तामा आवश्यक पाठ्यपुस्तकहरू कार्यालयको नेपालगन्जस्थित गोदाममा आइपुगेको उनले बताए । ‘लुम्बिनी र कर्णालीका केही जिल्लाका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ, प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरूमा क्रमशः पुस्तक वितरण गर्दैछौँ ।’ प्रमुख ढुङ्गेलले भने, ‘केही दिन अघि कर्णालीको हुम्लाका लागि पुस्तक वितरण कार्य गरिसकेका छौँ, हुम्लाका तीनजना बिक्रेताहरू आएर त्यहाँ आवश्यक पुस्तक लगिसक्नुभएको छ, अब केही दिनमा नै डोल्पाका लागि पठाउँदैछौँ ।’
उनका अनुसार नयाँ शैक्षिक सत्रका लागि हुम्लामा ४६ हजार ४८९ थान पुस्तक पुगिसकेको छ । सबै पाठ्यपुस्तक सेटमा नै रहेकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना बनाइएको र चैतको दोस्रो साताबाट तालिका अनुसार वितरण गरिने उनले बताए ।
नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रूकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रूकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने उनले बताए ।
गत वर्ष नेपालगन्ज कार्यालयबाट १० जिल्लामा १९ करोड ६० लाख ५० हजार ६२६ रूपैयाँ बराबरका १४ लाख ४६ हजार १६ थान पाठ्यपुस्तक वितरण गरिएको र यो वर्ष करिब १६ लाख थान पुस्तक वितरण गरिने लक्ष्य राखिएको उनले बताए । गत वर्षसम्म जनक शिक्षाले कक्षा ५ देखि १२ कक्षा सम्मका पुस्तक वितरण गरेकोमा यस वर्षबाट कक्षा ३ को समेत वितरण गरिने हुँदा बिक्री बढी हुने अनुमान गरिएको उनले बताए ।
तीन वर्ष अघिसम्म पुस्तक समयमा नपुग्ने समस्या रहेपनि त्यसयता भने लगातार शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक गोदाममा आउने र वितरण गर्ने गरिएकाले पुस्तक अभाव हुने समस्या नरहेको उनको भनाइ छ । प्रादेशिक प्रेस नेपालगन्जले गत वर्ष पनि समयमै सहजरूपमा सबै ठाउँमा पाठ्यपुस्तक पु¥याएको र अहिले पनि समयमा नै विद्यार्थीका हातमा सबै पाठ्यपुस्तकहरू पु¥याइने प्रमुख ढुङ्गेलले बताए ।
गत वर्ष हुम्लामा ५ वटा बिक्रेतामार्फत ३४ हजार ७८८ थान, डोल्पामा ७ वटा बिक्रेतामार्फत ३२ हजार ३९१ थान, रूकुमपूर्वमा ४ वटा बिक्रेतामार्फत ४५ हजार ४७७ थान, रूकुमपश्चिममा १९ वटा बिक्रेतामार्फत १ लाख ५९ हजार ५८३ थान, जाजरकोटमा ५ वटा बिक्रेतामार्फत ४५ हजार ६९३ थान, रोल्पामा ८ वटा बिक्रेतामार्फत १ लाख ६९ हजार ४९१ थान, सल्यानमा १८ वटा बिक्रेतामार्फत १ लाख ४८ हजार ९२१ थान, दाङमा ५ वटा बिक्रेतामार्फत ३ लाख ४४ हजार २५१ थान, बर्दियामा १८ वटा बिक्रेतामार्फत २ लाख २७ हजार ४६९ थान र बाँकेमा १५ वटा बिक्रेतामार्फत २ लाख ३७ हजार ९५२ थान गरी जम्मा १४ लाख ४६ हजार १६ थान पुस्तक बिक्री वितरण गरिएको कार्यालयले जनाएको छ ।
जनका शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू वितरण गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्