गिद्ध संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड



धनगढी ।

नेपालमा गिद्धको सङ्ख्या घट्दै गएको भन्दै सरोकारवालाहरूले यसको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । गिद्धको तीव्र रूपमा घट्दो सङ्ख्या रोक्न सरकार तथा विभिन्न संस्थाहरूले संरक्षण अभियान सञ्चालन गरिरहेका छन् । संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार गिद्ध बचाउन सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ ।

उनले कैलालीमा सञ्चालन गरिएको गुलेली सङ्कलन अभियानले चरा संरक्षणमा सकारात्मक प्रभाव पारेको बताए । वन मन्त्रालयका प्रवक्ता एवम् वन अधिकृत भरत श्रेष्ठका अनुसार गुँड भएको रुख काट्न कानुनी प्रतिबन्ध छ । उनले मन्त्रालय र मातहतका निकायहरूले गिद्ध तथा अन्य चरा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये सुन गिद्ध, डङ्गर गिद्ध र सानोखैरो गिद्ध अति सङ्कटापन्न सूचीमा छन्, जसको सङ्ख्या क्रमशः ५००, २००० र ७५ मात्र रहेको छ । त्यस्तै, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्ध सङ्कटको नजिक रहेका छन् । पाहुना गिद्धका रूपमा नेपालमा खैरो गिद्ध, राज गिद्ध र लामोठुँडे गिद्ध पाइन्छन् ।

बिसीएनका परियोजना अधिकृत भूपाल नेपालीका अनुसार २००८ मा ४०–५० गुँड मात्र रहेकोमा २०२२ सम्म आइपुग्दा ५०० भन्दाबढी गुँड भेटिएको छ । सुदूरपश्चिममा मात्र १५० भन्दा बढी गुँड फेला परेको छ ।

नेपाल सरकारले सन् २००६ मा गिद्धका लागि हानिकारक डाइक्लोफेनेक औषधीको बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । गिद्धको संरक्षणलाई प्रभावकारी बनाउन थप नीति तथा कार्यक्रम आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार