६ हजार बढी किशोरीले लगाए एचपीभी खोप



जुम्ला ।

जुम्लाका ६ हजार ५०६ जना किशोरीले एचपीभी खोप लगाएका छन् । पाठेघर मुखको क्यान्सरविरुद्व देशव्यापी रूपमा सञ्चालन भएको खोप अभियान अन्तर्गत जुम्लामा ६ हजार ५०६ जना किशोरीलाई खोप (एचपीभी) लगाइएको हो ।

गत माघ २७ गतेदेखि फागुन ७ गतेसम्म जुम्लाका ८ वटैै पालिकामा सञ्चालित खोप अभियान सञ्चालन भएको थियो । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुुसार ८ वटै पालिकाको विवरणनुसार ६ हजार ७३९ जनालाई खोप लगाउने लक्ष्य राखिएपनि ६ हजार ५०६ जना किशोरीलाई खोप लगाइएको हो ।

उनका अनुसार एचपीभी खोपबाट जुम्लाका ९६.५४ प्रतिशत किशोरी लाभान्वित भएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा र सबैभन्दा कम गुठिचौर गाउँपालिकामा खोप लगाइएको छ । कार्यालयको तथ्यांकनुसार चन्दननाथमा १ हजार ४२७ जना किशोरीले खोप पाउँदा गुठिचौर गाउँपालिकामा ४१५ जनाले मात्रै खोप लगाएका छन् ।

त्यस्तै कनकासुन्दरी गाउँपालिकामा ८०० जना, सिँजा गाउँपालिकामा ७१५, तातोपानी गाउँपालिका ६७३ जना, हिमा गाउँपालिकामा ८०८ जना, पातारासी गाउँपालिकामा ८०३ जना र तिला गाउँपालिकामा ८६५ जना किशोरीलाई एचपीभी खोप लगाइएको हो ।

चिसो बिदाका कारण बन्द विद्यालयहरू समयमै नखुल्नु, केही किशोरीहरू जिल्ला बाहिर रहेकोले पनि अपेक्षानुसार खोप कभरेज हुन सकेन् । जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार विद्यालयमा अध्ययन गरिरहेका कक्षा ६ देखी १० सम्मका किशोरी र विद्यालय बाहिरका १० वर्ष देखी १४ वर्षका किशोरीलाई खोप लगाइएको छ । खोप अभियान सफल पार्न ८६ वटा विद्यालय र हेल्थपोष्टलाई खोप केन्द्र तोकिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार