उपमेयर कप छात्रा क्रिकेटः उपाधिका लागि बालशिक्षा र लक्ष्मी मावि भिड्दै



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि बालशिक्षा मावि भरैया र लक्ष्मी माविबीच फाइनल हुने भएको छ । सोमबार बालशिक्षा मावि भरैयाले गोरखा युनाइटेड पब्लिक स्कुललाई र लक्ष्मी माविले ज्ञानज्योति माविलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

छैँटौँ दिन सेमिफाइनलका दुई वटा खेल भएका थिए । पहिलो खेल बालशिक्षा मावि र गोरखा युनाइटेड पब्लिक स्कुलबीच भएको थियो । दोस्रो खेल ज्ञानज्योति मावि र लक्ष्मी माविबीच भएको हो । पहिलो सेमिफाइनल खेलमा बालशिक्षा माविले पहिले टस जितेर ब्याटिङ रोज्यो । निर्धारित २० ओभरमा बालशिक्षा माविले ८ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

बालशिक्षा माविका लागि सर्वाधिक हुमकली ओलीले २५ बलमा १८ रन र सम्झना पुन मगरले २० बलमा १४ रन बनाएकी थिइन् । बालशिक्षा माविले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै गोरखा युनाइटेड पब्लिक स्कुलले ६.२ ओभरमा अलआउट हुँदै २१ रनमा समेटिएको थियो । योसँगै बालशिक्षा मावि ७३ रनले विजयी हुँदै फाइनल प्रवेश भएको हो । उक्त खेलमा बालशिक्षा माविकी सम्झना पुन मगरले ३ विकेट लिँदै म्यान अफ द म्याच समेत बनिन् ।

दोस्रो सेमिफाइनल खेलमा ज्ञानज्योति मावि र लक्ष्मी माविबीच भएको थियो । पहिला टस जितेर लक्ष्मी माविले ब्याटिङ रोज्यो । ब्यटिङ गर्दै लक्ष्मी माविले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

लक्ष्मी माविका लागि एलिशा बुढाले सर्वाधिक ३१ बलमा १६ र रितु रासकोटिले ७९ बलमा १० रन बनाएकी थिइन् । लक्ष्मी माविले दिएको १४० रनको लक्ष्य पछ्याउँदै ज्ञानज्योति माविले १०.२ ओभरमा अलआउट हुँदै ४२ रनमा समेटियो ।
योसँगै लक्ष्मी मावि ९७ रनले विजयी हुँदै फाइनल प्रवेश गरेको छ । विद्यालयका लागि रितुले बलिङतर्फ ३ विकेट लिएकी थिइन् । उनी म्यान अफ द म्याच समेत बनिन् । प्रतियोगिता–२०८१ को फाइनल आज कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १० बजे हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार