सकियो सेनाको रनिङ शिल्डः ड्रिमल्याण्ड बन्यो च्याम्पियन



नेपालगन्ज (बाँके) ।

नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गणको आयोजनामा ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामाग्री प्रदर्शनी २०८१’ मा नेपालगन्जको ड्रिमल्याण्ड इंग्लिस मिडियम हाई स्कुल च्याम्पियन बनेको छ । गत फागुन ९ गतेबाट बज्रदल गण राँझाको खेलकुद मैदानमा सञ्चालित नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता सोमबार समापन भएको हो । समापन कार्यक्रममा च्याम्पियन बनेको ड्रिमल्याण्ड स्कुललाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

श्री नम्बर ४ बाहिनी अड्डा ईमामनगर ब्यारेक राँझाका बाहिनीपति सहायक रथी रोशन शमसेर राणा र बज्रदल गणका प्रमुख गणपति प्रमुख सेनानी रविन श्रेष्ठ लगायतले विजेता स्कुलहरूलाई पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरेका थिए । प्रतियोगितामा छात्र फुटबल, छात्रा भलिबल, छात्र कबड्डी र छात्रा कबड्डी गरी चार विधामा खेलकुद सञ्चालन भएका थिए । बाँके र बर्दिया जिल्लास्थित नेपाली सेनासँग इम्प्यानल्ड गरिएका २८ वटा विद्यालयहरूमध्ये बाँके जिल्लाबाट सात र बर्दिया जिल्लाबाट चार गरी ११ वटा विद्यालयहरूको प्रतियोगितामा सहभागिता जनाएका थिए ।

छात्र फुटबलतर्फको खेलमा ड्रिमल्याण्ड स्कुल विजेता बनेको थियो । त्यसैगरी छात्रा भलिबलतर्फ कोहलपुरको नमुना विद्या सदन इंग्लिस मिडियम स्कुल विजेता बन्यो । छात्र कबड्डीतर्फ कोहलपुरकै तक्षशिला एकेडेमी र छात्रा कबड्डीतर्फ पनि कोहलपुरकै बागेश्वरी एकेडेमी विजेता बनेका छन् ।

प्रतियोगितामा बाँकेका होप इन्टरनेशनल एकेडेमी, कोहलपुर वागेश्वरी इंगिलस मिडियम स्कुल, बागेश्वरी एकेडेमी, तक्षशिला एकेडेमी, नमुना विद्या सदन इंग्लिस मिडियम स्कुल, दिपज्योती सेकेण्डेरी स्कुल, ड्रिमल्याण्ड इंग्लिस मिडियम हाई स्कुल र बर्दियाका अरनिको इंग्लिस मिडियम स्कुल, कर्णाली इंग्लिस बोर्डिङ स्कुल, भेरी पब्लिक शिक्षालय प्रालि र पेट्रियल इंग्लिस मिडियम स्कुल रहभागी रहेका थिए ।

बज्रदल गणको जिम्मेवारी क्षेत्र बाँके र बर्दिया जिल्लामा अवस्थित नेपाली सेनासँग इम्प्यानल्ड भई सञ्चालन भइरहेका विद्यालयहरूसँग आवश्कता अनुरुप समन्वय गरी २०७९ सालबाट विविध कार्यक्रम गर्नुका साथै रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको गणले जनाएको छ ।

सैनिक सामाग्री प्रदर्शनी

प्रतियोगिता समापनका दिन सोमबार सैनिक सामाग्री प्रदर्शनी समेत गरिएको छ । प्रदर्शनीमा बाँके र बर्दिया करिब १४ सयभन्दा बढी विद्यार्थी तथा शिक्षकहरूले अवलोकन गरेका थिए । बाँके र बर्दिया जिल्लास्थित नेपाली सेनासँग इम्प्यानल्ड गरिएका २८ वटा विद्यालयहरूमध्ये २० वटा विद्यालयका विद्यार्थीहरू र शिक्षकले प्रदर्शनीको अवलोकन गरेको बज्रदल गणले जनाएको छ ।

प्रर्दशनीमा सेनासँग सम्बन्धित रहेका इतिहासदेखि वर्तमानसम्मका प्रयोगमा आएका सामाग्रीहरूका १२ वटा स्टलहरू राखिएका थिए । विद्यार्थीहरूलाई सेनाका बारेमा सम्पूर्ण रुपमा जानकारी दिएर उनीहरूलाई सेनाप्रति आकर्षित गर्नका लागि र भविष्यमा उनीहरू सेनामा जोडिएर देशको रक्षा गर्न सकुन् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको गणप्रमुख प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।

‘विद्यार्थीहरूको नेपाली सेनाप्रतिको कौतुहलतालाई मेट्नका लागि, नजिकबाट सेनाको जीवन बुझ्नका लागि, सेनाको इतिहास बुझाउनका लागि र उनीहरूलाई नेपाली सेना सम्बन्धी सम्पूर्ण ज्ञान प्रदान गरेर भविष्यमा उनीहरूलाई सेनाप्रति आकर्षित गराउनका लागि सामाग्रीको प्रदर्शनी गरिएको हो ।’ प्रमुख सेनानी श्रेष्ठले भने ।

प्रदर्शनीमा पृथ्वीनारायण शाहका पालादेखि हालसम्मका सेनाको पोसाक, लडाइँ तथा युद्धकलाका सामाग्री, उद्दार सामाग्री, वम डिस्पोज सामाग्री, युद्धमा प्रयोग गरिने वाहन, बाँके राष्ट्रिय निकुञ्जको सुरक्षा, लगायतका विभिन्न विषयहरूमा विद्यार्थीहरूलाई प्रत्यक्षरुपमा ज्ञान प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार