धनगढी उपमहानगरमा पर्खाल बनाउन गुणस्तरहीन इट्टा प्रयोग



शेरबहादुर ऐर । कैलाली ।

इट्टाहरूको चाङ छ । केही टुटेर धुलो बनेका छन् भने केही टुक्रा–टुक्रा भएका छन् । दृष्य धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुल्ला मञ्च नजिक निर्माणाधीन ‘पर्खाल’को हो । धनगढीको सहिदगेटदेखि क्याम्पसरोड जोड्ने सडकको छेउमा निर्माण गरिन लागेको पर्खालमा गुणस्तरहीन इट्टा प्रयोग भइरहँदा सम्बन्धित निकायले अनुगमन तथा नियन्त्रणमा ध्यान दिन सकेको छैन् ।

धनगढी उपमहानगरपालिकाले एशियन विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत काम भइरहेको भन्दै पन्छिएको छ । धनगढीका इन्जिनियर द्धिजराज भट्टले कालिका कन्स्ट्रक्सनले सो पर्खाल निर्माण कार्य गरिरहेको र सो कार्य शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीबाट सञ्चालित रहेको बताए । उनले भने, ‘हामीले सो योजनाको अनुगमन गरेका छैनौँं ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले सो सडकमा बनिरहेको पर्खालबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘पर्खाल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गर्न पाइँदैन् । यसको अनुगमन गर्ने र नियमन गर्ने कार्य स्थानीय तहको पनि हो । शहरी विकासको योजना भनेर कसैले पन्छिन पाउँदैन ।’

उनले आफूहरू सो स्थानमा पुगेर प्रयोग भइरहेका गुणस्तरहीन निर्माण सामाग्रीलाई हटाउन लगाउने बताए । बिहीबारमात्र धनगढी नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानाले सो खुल्लामञ्चमा धनगढी उपमहानगरपालिकाको आयोजनामा भइरहेको सीप तथा रोजगार मेलाको समुद्घाटन समारोहमा त्यहीँ थिए । तर, सो पर्खाल निर्माणमा गुणस्तरियता कायम भएको वा कमसल इट्टा प्रयोग भइरहेकोबारे ध्यान दिएनन् ।

धनगढीमा सञ्चालन भइरहेका योजनाहरूको निर्माणमा कमसल हुन नदिन अनुगमन गर्नुपर्ने अधिकार क्षेत्र नगर उपप्रमुखको हो । तर, उनी सो दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीकै स्वागतमा उनी व्यस्त भइन् ।

यसरी नै पर्खाल निमार्ण हुने हो भने अहिले बनाइएको संरचना लामो समयसम्म नटिक्ने गुनासो धनगढीबासीको रहेको छ । विगतमा निर्माण भएका कैयौं भौतिक संरचनाहरूमा कमसल खालका सामग्री प्रयोग भएर निर्माण सम्पन्न भएको केही समयमै भत्किने गरेका उदाहरणहरू धेरै छन् ।

निर्माणस्थलमा कमसल खालका इट्टा फेला परेकै अवस्थामा पर्खालमा पनि कमसल खालको सामाग्री प्रयोग भएन भनेर विश्वास गर्न जनतालाई त्यति सजिलो छैन् । सामाजिक सञ्जालमा विकास, सुशासन र पारदर्शीका ठूला–ठूला भाषण गर्दै आएका नगर प्रमुख हमालकै आँखा अगाडि ‘विर नामक’ गुणस्तरियहीन इट्टा प्रयोग गरि पर्खाल निर्माण भइरहँदा उनी मौन बसेका छन् ।

खुलेआम यसरी गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरि सरकारी संरचना बनिरहँदा निर्माण व्यवसायी तथा निर्माण कम्पनीहरूका योजनाहरूको अनुगमन उपमहानगरपालिकाले गर्न सकेको छैन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार