गणेश रावत । कोहलपुर ।
बाँकेको कोहलपुरमा जारी ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को सेमिफाइनलमा चार वटा विद्यालय प्रवेश गरेका छन् । पाँचौँ दिन आइतबार ज्ञानज्योति मावि, लक्ष्मी मावि र गोरखा युनाइटेड पब्लिक स्कुल सेमिफाइनल प्रवेश गरेका हुन् । ज्ञानज्योति माविले सगरमाथा ज्ञानकुञ्ज माविलाई, लक्ष्मी माविले बागेश्वरीलाई र गोरखा युनाइटेड पब्लिक स्कुलले त्रिभुवन माविलाई हराएर सेमिफाइन प्रवेश गरेका हुन् भने बालशिक्षा मावि भने यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
आइतबार पाँचौँ दिनको पहिलो खेल कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा सगरमाथा ज्ञानकुञ्ज माविले टस जितेर पहिला बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको ज्ञानज्योति माविले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । विद्यालयका लागि जयन्ती चन्दले सर्वाधिक ४६ रन र आशा ओलीले ७ बनाएकी थिइन् ।
ज्ञानज्योति माविले दिएको ८५ रनको लक्ष्य पछ्याउँदै सरमाथा ज्ञानकुञ्ज माविले निर्धातिर १२ ओभरमा ५ विकेट गुमाउँदै ७८ रहनमा समेटिएको हो । विद्यालयका लागि सुजता परियाले २० रन र जीवनीले १७ रन बनाएकी थिइन् । ज्ञानज्योति माविले दिएको लक्ष्य पूरा गर्न नसक्दा सगरमाथा ज्ञानकुञ्जले ६ रनले पराजित भएको हो ।
ज्ञानज्योति माविकी जयन्ती चन्दले २ विकेट र सर्वाधिक ४६ रन बनाउँदै विद्यालयलाई विजयी बनाउन विशेष योगदान दिएकी थिइन् । उक्त खेलको प्लेयर अफ द म्याच समेत चन्द बनेकी थिइन् । पाँचौँ दिनको दोस्रो खेल बागेश्वरी मावि र लक्ष्मी माविबीच भएको थियो । टस जितेर लक्ष्मी माविले बलिङ रोज्यो । लक्ष्मी माविले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ७२ रनको लक्ष्य बागेश्वरी माविलाई दिएको थियो ।
लक्ष्मी माविले दिएको ७२ रनको लक्ष्य पछ्याउँदै बागेश्वरी माविले १४ ओभरमा अलआउट हुँदै ६३ रन मात्रै बनाउन सक्यो । लक्ष्मी माविले ९ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । बागेश्वरी मावि कृतिमा चौधरीले ३ विकेट लिँदै प्लेयर अफ द म्याच बनेकी थिइन् ।
यस्तै तेस्रो खेलमा त्रिभुवन नमूना मावि र गोरखा युनाइटेड पब्लिक स्कुलबीच भएको थियो । त्रिभुवन नमूना माविले टस जितेर पहिले ब्याटिङ राजेको थियो । त्रिभुवन नमूना माविले ११.१ ओभरमा अलआउट हुँदै गोरखालाई ४४ रनको झिनो लक्ष्य दिएको थियो । ४४ रनको लक्ष्य पछ्याएको गोरखा युनाइटेड पब्लिक स्कुलले ५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । योसँगै गोरखा सेमिफाइनल पुगेको छ । गोरखाकी प्रसन्न रेग्मीले ४ विकेट लिँदै प्लेयर अफ द म्याच बनिन् ।
आज सेमिफाइनलमा चार वटा विद्यालयहरू खेल्ने छन् । पहिलो खेल बालशिक्षा मावि भरैया र गोरखा युनाइटेड पब्लिक स्कुलबीच हुने संयोजक विनय गिरीले बताए । उनका अनुसार दोस्रो खेल ज्ञानज्योति मावि र लक्ष्मी माविबीच हुनेछ । खेल २० ओभरको रहने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्