तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप हुँदै



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा आगामी फागुन १७ गते तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप– २०८१ हुने भएको छ ।

कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर बाँकेको आयोजनामा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप– २०८१ हुने भएको हो । प्रतियोगिताका बारेमा जानकारी दिन आइतबार कोहलपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतले आगामी फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाह खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा गोल्डकपको तेस्रो संस्करण हुन लागेको हो । क्लबको आयोजनामा यसअघि दुई संस्करणका मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता सम्पन्न भइसकेका छन् । आयोजका अनुसार कोहलपुर गोल्डकपमा दुई विदेशी टिमसहित कुल आठ टोलीको सहभागिता रहनेछ ।

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा अफ्रिकन राष्ट्र घानाको फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ्ग ब्वाईज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राईनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर बाँके सहभागी हुँदैछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख, दोस्रो हुनेलाई चार लाख, म्यान अफ दि टुर्नामेन्ट हुनेलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०÷१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले आफ्नो जर्सीसमेत सार्वजनिक गरेको थियो । क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष भोजराज शाही र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जर्सी सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले खेलकुदका माध्यमबाट कोहलपुर क्षेत्रको अर्थतन्त्र चलायमान बनाउने, हरित कोहलपुरको प्रचार प्रसार र पर्यापर्यटनमा टेवा पु¥याउने र स्थानीय व्यापार व्यवसायलाई चलाउनुपर्ने बनाउने बताए । उनका अनुसार स्थानीय खेलाडिहरूलाई अवसर प्रदान गराउने, खेल संस्कृतिको विकास गर्ने गोल्डकपको उद्देश्य रहेको छ ।‘खेलाडिलाई बाँके÷बर्दियाका पर्यटकीय क्षेत्र घुमाउनेछौँ । प्रथम र द्वित्तीय स्थान हासिल गर्ने टिमलाई होमस्टेमा बसाउने र रैथाने खाना चखाउनेछौँ ।’ अध्यक्ष क्षेत्रीले भने ।

एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष भोजराज शाहीले गोल्डकप आयोजक क्लबको मात्रै नभएर सिंगो बाँके जिल्लाको लागि महत्वपूर्ण रहेको बताए । उनका अनुसार भविष्यमा खेलाडि उत्पादनको लागि ग्रासरुट फुटबलको विकास हुन आवश्यक छ । गोल्डकप आयोजना गरिरहेको क्लबले त्यसको सुरुवात गरेको भन्दै यस्ता कार्यले आगामी दिनमा निकै ठूलो महत्व राख्ने उनले बताएका थिए । कोहलपुरमा सञ्चालित प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष शाहीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्ड कपलाई कोहलपुरको पहिचानका रुपमा विकास गर्न आवश्यक रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार खेलकुको माध्यमबाट कोहलपुरको फरक परिचय बनाउन गोल्डकपले भूमिका खेल्नेछ । गोल्ड कप सफल पार्न नगरपालिकाले गर्ने प्राविधिक सहयोगको लागि सकारात्मक छ ।

‘कोहलपुरको प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई शान्तिपूर्ण रुपमा सफल बनाउन सम्पूर्णलाई आग्रह गर्दछु । यस्ता प्रतियोगिताले खेलाडिहरूलाई प्रोत्साहनसमेत गर्छन् ।’ उनले भने । कोहलपुर नगरपालिका प्रमुख संरक्षक रहेको प्रतियोगिता सम्पन्न गर्न ९१ लाख २६ हजार रूपैयाँ खर्च लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार