नेपालगन्ज ।
‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने भएको छ । आयोजक टीकापुर साहित्य महोत्सव आयोजकले जारी गरेको विज्ञप्तिमा यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने महोत्सवलाई ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको जनाएको छ ।
लेखक तथा अध्येता हरि शर्माको विद्वत् प्रवचनबाट थालनी हुने महोत्सवमा २१ बहस सत्र रहने जनाइएको छ । जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रन्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्नेछन् ।
त्यसैगरी लेखकहरू विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नेछन् । समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा.ब्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन् ।
नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका प्रतिभाशाली युवा कविहरू देवव्रत, खेम बतास, बीपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्नेछन् । अभिनेत्री केकी अधिकारी तथा अभिनेता विजय बराल पनि महोत्सवमा सहभागी हुनेछन् ।
साहित्यका साथै महोत्सवमा वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारू संस्कृति, विकास, पर्यटन, दलितका मुद्दा, जीवन दर्शनजस्ता विषयमा समेत छलफल चल्नेछ । टीकापुरका चुनौती र अवसर विषयले पनि महोत्सवमा विशेष प्राथमिकता पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्