कोहलपुर ।
बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाँकेको एउटा सामुदायिक वनबाट पाटेबाघको उद्दार गरेको छ । वनजङ्गल क्षेत्रमा लुकेर बस्ने तथा साँझपख मानवबस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरहरूमाथि आक्रमण गरी क्षति पु¥याउन थालेपछि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरस्थित एक सामुदायिक वनबाट निकुञ्जको टोलीले शनिबार राती उक्त बाघलाई नियन्त्रणमा लिएर उद्दार गरेको हो ।
‘स्थानीयको आग्रहपछि शनिबार राती अन्दाजी साढे ८ बजेको समयमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरस्थित सामुदायिकबाट हाम्रो प्राविधिक टोलीले अन्दाजी तीन वर्ष उमेर पुगेको पोँथी बाघ (बघेनी) लाई नियन्त्रणमा लिएर उद्दार गरेका छौँ ।’ बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले भने ।
नियन्त्रणमा लिइएको बाघलाई उद्दार गरेर निकुञ्जको खैरीखोलास्थित खैरी पोष्टको खोरमा राखिएको सूचना अधिकारी पंगेनीले जानकारी दिए । ‘हात्तीसहितको प्राविधिक टोली परिचालन गरेर बाघलाई उद्दार ग¥यौँ, उद्दार गरेको बाघलाई खैरी पोष्टमा रहेको खोरमा राखेका छौँ ।’ पंगेनीले भने, ‘केही दिन अव्जर्भेसनमा राख्छौँ, तत्काल छाड्दैनौँ ।’ बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका विभिन्न सामुदायिक वनक्षेत्रका मानवबस्तीमा पाटेबाघले घरपालुवा जनावरलाई क्षति पु¥याउँदै आएको छ ।
सूचना अधिकारी पंगेनीका अनुसार उक्त बाघले मानवीय क्षति नगरेपनि स्थानीयका गोठमा पसेर बाख्रा, पाडापाडी, बाच्छाबाच्छीमाथि आक्रमण गरेर क्षति पु¥याउँदै आएको थियो । स्थानीयले शनिबार राती उक्त बाघलाई बालापुर नजिकैको खोल्सामा देखेपछि बाघ समातिदिनका लागि निकुञ्जलाई खबर गरेका थिए । हात्तीसहितको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्