स्याउले बजारमा संस्कार क्रिकेट लिग हुँदै



धनगढी ।

कैलालीमा संस्कार क्रिकेट लिग हुने भएको छ । गोदावरी नगरपालिका– ८ स्याउले बजारमा चैत ३० गतेदेखि संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले ‘टिम–११ संस्कार क्रिकेट लिग’ आयोजना गर्न लागेको हो ।

प्रतियोगितालाई टिम–११ काठमाडौँले प्रायोजन गर्ने भएको छ । लगातार आठ वर्षसम्म धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गरेपश्चात अब स्याउले बजारमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक रामचन्द्र शाहीले जानकारी दिए ।

उनले स्याउले बजारलाई खेलको माध्यमबाट चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

१० दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने शाहीले बताए । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार ५५५ तथा उत्कृष्ट बलर, ब्याटर र उदयमान खेलाडीलाई नगद तीन हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार