सामाजिक सञ्जालमार्फत भ्रमित पार्दै नगर प्रमुख हमाल



तिहारमा नगर प्रमुख गोपाल हमालकी दिदीले भारतबाट घरायसी सामान खरिद गरेर ल्याइन् । ट्राफिक चौराहमा खटिएको प्रहरी टोलीले धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा उनले प्रहरीमाथि आक्रोश पोख्दै, ‘कैलाली जिल्ला प्रहरी ?’ नगर प्रमुख हमालले प्रहरीमाथि प्रश्न गर्दै राखेको पोष्टमा प्रहरीलाई जुवातास खेलाउनेको संरक्षकदेखि ठूला दलहरूको ‘हली’ सम्मको संज्ञा दिएका थिए ।
शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालमाथि प्रश्न उठ्दै गएपछि झुटो अभिव्यक्ति सहितको भिडियो सार्वजनिक गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि स्वार्थ केन्द्रित निर्णयदेखि सर्वसाधारणलाई दुःख दिने गरि कार्य गरेकोप्रति समाचार तथा आलेख प्रकाशन भइरहँदा उनले शुक्रबार झुटो अभिव्यक्तिसहितको भिडियोमार्फत सार्वजनिक गरेका हुन् ।

हातमा छडी लिएर बिरामी भएकोमा सहानुभूति खोज्दै भिडियोमा नगर प्रमुख हमालले भ्रममा नपर्न भन्दै सञ्चारकर्मीलाई गलत देखाउने सहितको अभिव्यक्ति दिएका छन् । उनले समाचारमा आएका विषयमापछि जवाफ दिने तर, चुनावमा असहयोग गर्ने पत्रकारहरूबाट लेखहरू आएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तामा भ्रम छर्ने कोसिस गरेका थिए ।

‘धेरै जनाले मलाई सोधे तपाईको जवाफ किन आएन भनेर ? सोधेपछि मैले क्रमशः भनेकोले सबै एपिसोड सकिएपछि एक–एक कुराको जवाफ दिन्छु’ उनले फेसबुकमा राखेको भिडियोमा भनेका छन्, ‘यीनै व्यक्तिहरूले स्थानीय मतदानको ठिक दुई दिन अघि मेरो विषयमा एउटा भिडियो निकाल्नु भएको थियो । भिडियो निकालेर जनतामा भ्रम सृजना गर्न त्यो अस्त्र प्रयोग गर्न खोजियो तर, कुनै काम लागेन् ।’

नगर प्रमुख हमालको सार्वजनिक अभिव्यक्ति र अहिले धनगढीमा भइरहेको समसामयिक विषयको चर्चाबीच कुनै मेल छैन् । नगर प्रमुख हमालले स्थानीय तहको निर्वाचनमा सार्वजनिक भएको आफ्नो यौनकाण्डलाई अहिले धनगढीमा उनीबाट प्रताडित धनगढीबासीका गुनासोसँग जोडेर सहानुभूति लिने कोसिस गरिरहेको सार्वजनिक भिडियोले स्पष्ट देखिएको छ । तर, उनको भिडियोमा प्रतिक्रिया दिनेहरू अधिकांशले ‘शीघ्र स्वास्थ्य लाभको कामना’ गरेका छन् ।

धनगढीका शेरबहादुर विष्टले भनेका छन्, ‘मानसिक रूपमा बलियो बन्न उत्प्रेरित गर्नुपर्ने बेलामा यस प्रकारको आलेखमार्फत मानसिक रूपमा बिछिप्त पार्न खोजिनु हुन्नथ्यो । खै उबेला नृर्प वड हुँदा थुप्रै बेथिति थिए रे तर आलेख कहिल्यै आएनन् । तात्तो न छारो ।’ नगर प्रमुख हमालले सञ्चार माध्यमविरुद्ध अभिव्यक्ति दिएको यो पहिलो घटना होइन् । आफ्ना विषयमा आलोचनात्मक समाचार सम्प्रेषण भयो भने सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै, ‘भ्रममा नपर्न’ भन्दै आफूलाई सही देखाउने प्रयास गर्दै आइरहेका छन् ।

दुई वर्षअघि आफ्नै छोरीका विषयमा धनगढीबाट प्रकाशन हुने सञ्चार माध्यममा समाचार प्रकाशन हुँदा नगर प्रमुख हमालले सञ्चार माध्यमकै नाम लिएर ‘तीन भाई’ को संज्ञा दिएका थिए । एक वर्षअघि जग्गा प्लटिङ कार्यविधि कार्यपालिका बैठकमा छलफल नगरि रातारात राजपत्रमा प्रकाशन गरे । वडा अध्यक्ष र जनप्रतिनिधिहरूले विरोध गरेपछि नगर प्रमुख हमालले न त नगर सभा गरे न त कार्यपालिका बैठकनै बसाए । सोबीचमा उनी र उनी निकटहरूले सामाजिक सञ्जालमै जनप्रतिनिधिहरूलाई दोषी देखाउने प्रयास गरे । नगर प्रमुख हमालले ‘आफूलाई राजीनामा दिन बाध्य पारेको भन्दै’ विभिन्न सञ्चार माध्यमबाट सो समयमा समाचार प्रकाशन गराएका थिए ।

जग्गा प्लटिङकै विवाद नमिलेपछि एक वर्षअघि नगर प्रमुख हमालले आफूलाई असहयोग भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिए । ‘कार्यपालिका बैठकमा दुई महिनादेखि कोही सहभागी भइदिँदैनन् । कोबाट कहिले कसरी असहयोग भयो भन्नेबारे विस्तृत मलाई कार्यालय समयमा सम्पर्क गर्नुहोला जानकारी दिन्छु’ सो समयमा उनले दिएको प्रतिक्रिया हो यो । उनले कार्यपालिका सदस्यबाट असहयोग भएको प्रतिक्रिया दिएपनि बैशाख ३१ गते कार्यपालिका बैठक बसेको थियो । सो बैठकले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी सामाजिक परिचालकलाई दिने र धनगढीमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता तथा नवीकरण गर्नेबारे निर्णय गरेको थियो ।

नगर प्रमुख हमालले सो समयमा चालु आर्थिक वर्षको बजेटलाई लक्षित गर्दै सो प्रतिक्रिया दिएका थिए । धनगढीका विषयलाई लिएर समाचार तथा आलेख आइरहेपछि नगर प्रमुख हमालले धैर्य गर्न अनुरोध गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘४० एपिसोड तयार गरेको छ । अहिले क्रमशः भनेकाले म पर्खिरहेको छु । सबै एपिसोडपछि जवाफ दिने छु ।’ धनगढीका सञ्चारमाध्यम र सञ्चारकर्मीसँग सहजै कुराकानी गर्न नमान्ने नगर प्रमुख हमालले समाचारका विषयलाई भन्दा अन्य प्रसंग निकालेर स्टन्ट कायम गर्न खोजेको शुक्रबार सार्वजनिक भिडियोमा देखिन्छ ।

यस्तै यही तिहारमा उनकी दिदीले तिहारका लागि भारतबाट घरायसी सामान खरिद गरेर ल्याइन् । ट्राफिक चौराहमा खटिएको प्रहरी टोलीले धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश पोख्दै, ‘कैलाली जिल्ला प्रहरी ?’ उनले प्रहरीमाथि प्रश्न गर्दै राखेको पोष्टमा प्रहरीलाई जुवातास खेलाउनेको संरक्षकदेखि ठूला दलहरूको ‘हली’ सम्मको संज्ञा दिइएको थियो । उनकी दिदीले सरकारी गाडीमा भारतबाट घरका लागि प्याज, आलु लगायतका तिहारका सामाग्री बोकेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार