आजदेखि बुटवलमा ललितकला प्रदर्शनी हुँदै



श्यामलाल पोखरेल । बुटवल ।

नेपाली मौलिक कला र सांस्कृतिक महत्वलाई जीवन्त राख्नमा ललितकलाको योगदान उच्च मानिन्छ । ललितकलालाई अद्भूत कलासमेत मानिन्छ ।

समाजमा लुकेका हरेक विषय वस्तुलाई चित्रमार्फत समाज रूपान्तरणको रूपमा उजागर गर्ने ललितकलाकर्मीहरू बताउँछन् । संस्कार, सभ्यता, सौन्दर्य, परम्परा र समयसापेक्ष चेतनाको अभिव्यक्तिलाई सिर्जनामार्फत बाहिर ल्याउने उद्देश्यले रूपन्देहीको बुटवलमा ललितकला प्रदर्शनी आयोजना गरिएको छ ।

आज शनिबारदेखि बुटवलमा ललितकला प्रदर्शनी आयोजना हुँदैछ । ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ आजबाट सञ्चालन भएको प्रदर्शनी फागुन १४ गतेसम्म रूपन्देही उद्योग संघको सभाहलमा आयोजना हुनेछ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र नेपाल व्यवसायिक कलाकार संघ रूपन्देहीको सहआयोजनामा ललितकला प्रदर्शनी गरिने छ । आयोजकहरूले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी ललितकला प्रदर्शनीबारे जानकारी गराएका थिए । १ सय १३ जना कलाकारहरूले सिर्जना गरेका १ सय ८० वटा चित्रकला, मूर्तिकला,, हस्तकला, लोककला, कार्टुनकला, फोटोग्राफी कलाकृति प्रदर्शन गरिने मूर्तिकला विभाग प्रमुख प्राज्ञ दिनेश्वर महतोले जानकारी गराए ।

मूर्तिकला विभाग प्रमुख प्राज्ञ दिनेश्वर महतोले कलाकृतिहरूले दर्शकलाई सौन्दर्यबोध गराउनुका साथै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने र स्थानीय कलाकारहरूको प्रतिभा उजगार गर्ने बताए । ललितकला प्रदर्शनी कार्यक्रम सम्पन्न गर्नका लागि करिब १० लाख खर्च हुने र प्रदर्शनीमा सहभागी कलाकारहरूका उत्कृष्टकला कृतिहरूलाई छनोट गरी पुरस्कृत गरिने छ ।

कला प्रदर्शनीमा १ लाख राशीको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार राशीको ललितकला विद्यागत पुरस्कार, नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ । ललितकला विद्यागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक र आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक र आधुनिक मूर्तिकला, शिल्पकला, हस्तकला, वास्तुकला र लोकल बहुआयमिक कलाका साथै अन्य सिर्जनात्मक कलामा कलाकारहरूलाई पुरस्कृत गरिने नेपाल व्यवसायिक कलाकार संघका अध्यक्ष तथा कार्यक्रम सहसंयोजक दिलिप रसाइलीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि लुम्बिनी प्रदेश सरकारले सामान्य प्रतिबद्धतासमेत नजनाएर असहयोग गरेको आयोजकहरूले गुनासो गरेका छन् । मुख्य भूमिका खेल्नुपर्ने लुम्बिनी प्रदेश सरकारले सहयोग नगरेपनि ललितकला प्रदर्शनी सहज रूपमा सम्पन्न गर्ने गरी तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रामग्राम नगरपालिकाको सहकार्यमा ललितकला प्रदर्शनी हुने कलाकार एचवी रम्तेलले जानकारी दिए । उक्त ललितकला प्रदर्शनी उद्घाटन गर्नका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने कार्यक्रम तय भएको छ । गत वर्ष आयोजना गरिएको ललितकला प्रदर्शनीमा उत्कृष्ट ६ जनालाई पुरस्कृत गरिएको थियो । यस वर्ष ११ जनाको मुल्याकंन समितिले छनोट गरेका कलाकारहरूलाई पुरस्कृत गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार