कोहलपुर (बाँके) ।
बाँके कोहलपुर नगरपालिकामा सप्ताहव्यापी निःशुल्क आँखा शिविर सुरु भएको छ ।
कोहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सप्ताहव्यापी आँखा शिविर सुरु भएको हो । ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा हाम्रो साझेदारी’ भन्ने मूल नारासहित तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा सुरु भएको आँखा शिविर फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । शिविर शुक्रबारदेखि कोहलपुर–१४ स्थित राम माध्यमिक विद्यालयबाट सुरु भएको हो ।
शिविरको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिका क्षेत्रका नागरिकहरूको आँखा सम्बन्धी समस्यालाई मध्येनजर गर्दै निःशुल्क जाँचका लागि शिविर सञ्चालन गरिएको जानकारी दिए ।
यसैगरी स्क्रिनिङको क्रममा आँखा सम्बन्धी गम्भीर समस्या देखिएकाहरूको निःशुल्क शल्यक्रियासमेत गरिने नगर प्रमुख आचार्यले बताए । ‘शिविरमा हामीले ज्येष्ठ नागरिकलाई लक्षित गरेका छौँ । बालबालिका तथा अन्य उमेर समूहका नागरिकहरूले समेत सेवा पाउँनेछन् । आँखा जाँच र अपे्रसन निःशुल्क गरिनेछ । म सम्पूर्ण नागरिकलाई शिविरमा गएर आँखा चेकजाँच गर्न आग्रह गर्दछु’ नगर प्रमुख आचार्यले भने ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले आँखा शिविरले कोहलपुरका नागरिकलाई राहत पुुग्ने बताए । संयोजक विश्वकर्माका अनुसार शिविर कोहलपुरमा १५ वटै वडामा सञ्चालन हुनेछ । शुक्रबार पहिलो दिन सुरु भएको शिविरमा बालबालिकादेखि युवा र जेष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । राम मावि हवल्दारपुरमा सञ्चालित शिविरमा भेटिएकी ९ वर्षीया मुना पौडेलले अभिभावकहरूबाट शिविर सञ्चालन हुने थाहा पाएपछि आँखा चेकजाँचका लागि आएको बताइन् ।
मिसन पब्लिक स्कूलमा कक्षा तीनमा अध्ययनरत पौडेलले आँखा मानव स्वास्थ्यको अभिन्न अंग भएका कारण विद्यार्थीहरूका लागि आँखा स्वस्थ हुनुपर्ने कुरालाई मध्येनजर गर्दै आफू आँखा जँचाउन आएको बताइन् । शिविरमै भेटिएका ८२ वर्षीय हस्तबहादुर बुढाले शिविर आँखा सम्बन्धी समस्या भएका नागरिकहरूको लागि सुवर्ण अवसर भएको बताए ।
‘रेडियोबाट आँखा सम्बन्धी शिविर हुने सुनेको थिएँ । त्यही सूचनाको आधारमा आफ्नो आँखा चेक गर्न आइपुगेँ’ उनले भने । उमेर बढ्दै जान थालेपछि आँखा सम्बन्धी समस्या बल्झिएको बताउँदै उनले राम्रो सेवा पाउने विश्वास गरेका छन् । आँखा शिविर कोहलपुर नगरपालिकाका १५ वटै वडामा सञ्चालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको कोहलपुर नगर अस्पतालमा फागुन १६, १७ र १८ गते निःशुल्क शल्यक्रिया गरिने नगरपालिकाले जनाएको छ । शल्यक्रिया गर्नुपर्ने कोहलपुर नगरभित्रका बिरामीलाई खाजा खर्चसहित घरसम्म पु¥याउने व्यवस्था गरिएको छ । शिविरका लागि तिलगंगा आँखा अस्पतालका दुईजना र सुर्खेेत आँखा अस्पताल सुर्खेतबाट दुईजना विशेषज्ञ आएका छन् । शिविरमा आँखा जाँच, ओपिडी सेवा, मोतिविन्दुको जाँच, औषधी वितरण तथा शल्यक्रियाका लागि व्यक्ति छनोट गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्