कोहलपुर ।
बाँकेको कोहलपुर–१० स्थित तक्षशिला एकेडेमीले ९औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बिहीबार एक समारोहकाबीच विविध कार्यक्रमको आयोजना गरेर विद्यालयले वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । नगर प्रमुख आचार्यले विद्यालयले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
तक्षशिलाले समय अनुसार आफूलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले एकेडेमीले व्यवहारिक ज्ञान र सिर्जनशीलतालाई प्रवद्र्धन गर्नुपर्ने बताए । गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि अन्य जिल्लाका विद्यार्थीहरूले पनि कोहलपुर नै रोज्नुपर्ने उनको भनाइ थियो ।
नगर प्रमुख आचार्यले विद्यार्थीहरूको मनोविज्ञान बुझेर विद्यालयले शिक्षण सिकाइ गर्नु आजको आवश्यकता रहेकोमा जोड दिए । अभिभावकहरूले समेत बालबालिकाहरूको इच्छा शक्ति र रूची अनुसार हौसला र साथ दिन आग्रह गरे ।
विद्यालयका फाउन्डर एवम् प्रमुख शैक्षिक सल्लाहकार खोपिराम ओलीले तक्षशिलालाई प्रविधिमैत्री बनाउनुका साथै नवीनतम् शिक्षा प्रणालीबाट पठनपाठन गरिने बताएका थिए । विद्यार्थीहरूको चौतर्फी विकास गर्न विद्यालयले युग सुहाउँदो डिजिटल माध्यमबाट अध्यापन गराइरहेको उनले जानकारी दिए । उनले नवीनतम् ज्ञान प्रदान गर्न विद्यालयले कुनै कसर बाँकी नराखेको दाबी गरे ।
२०७३ सालमा स्थापना भएको तक्षशिला एकेडेमीले २०७७ सालदेखि कक्षा ११ र १२ पठन पाठन गर्ने गरिरहेको एकेडेमीका अध्यक्ष विष्णु बेल्वासेले बताए । होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयको अध्ययन गराइरहेको विद्यालयले खेलकुदका लागि पर्याप्त खेल मैदान, स्वीमिङ पुल तथा मनोरञ्जनयुक्त वातावरण रहेको उनले जानकारी दिए ।
गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै पूर्वाधारका कारण विद्यालयलाई कोहलपुरकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्य रहेको उनको भनाइ रहेको थियो । विद्यालयको व्यवस्थापनमा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे । पढाइ बाहेक अन्य व्यवहारिक, सिर्जनात्मक, खोजमुलक तथा प्रयोगात्मक शिक्षालाई पनि जोड दिएको अध्यक्ष बेल्वासेले बताए ।
सो अवसरमा विद्यार्थीहरूले विभिन्न समुदायका संस्कृति झल्काउने नृत्य, नाटक प्रदर्शन गरेका थिए । वर्षभर विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्