बाँके ।
पर्यटन प्रवद्र्धनलार्ई नयाँ उचाइ दिन बाँकेको नेपालगन्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड सोरूम नेपालगन्जबाट सुरू भएको यो साहसिक यात्रा नेपालगन्ज सिटी टुर गर्दै बैजनाथ गाउँपालिकाको गाभर उपत्यकासम्म पुगेर सम्पन्न भएको हो ।
कार्यक्रमको झण्डोत्तोलन नगर प्रमुख बिष्ट र बाँके प्रमुख जिल्ला अधिकारी रिजालले गरेका थिए । यात्रालार्ई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौँबाट सहभागी भएकी थिइन् ।
साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए । नेपालगन्ज सहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर भ्याली उपत्यका पुगेका थिए । त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यले उनीहरूलार्ई भव्य स्वागत गरेका थिए ।
यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरू सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि रूपमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट रहेका थिए । त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल बागेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक (एससी) शोभाकान्त खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अन्तिम चरण नेपालगन्ज सोरूममा समापन गरिएको थियो । जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्दलार्ई सम्मान प्रदान गरिएको थियो । महा–राइडले नेपालगन्ज र गाभर उपत्यकाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
रोयल इनफिल्डका उत्साही राइडरहरू आगामी यात्राहरूमा अझ उत्साहित हुँदै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए । यात्राको थप आकर्षण रहेको रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता राकेश (रकी)ले जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्