चितवनका २६ वर्षीय युवा रोशन लामिछाने साइकलमै विश्वलार्ई नै फन्को मार्ने उद्देश्यका साथ घरबाट निस्किएका छन् । ‘क्यापिटल टु क्यापिटल’ नाराका साथ उनी संसारलार्ई एक फन्को मार्न निस्केका हुन् । उनी अबको पाँच वर्षसम्म लगातार साइकलमा विश्वयात्रा गर्नेछन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
साइकलमा विश्व यात्रा ? झट्ट सम्झिदा असम्भव जस्तो लाग्छ । तर, संसारमा असम्भव ठानिएका धेरै कुरा सम्भव भएका छन् । ती सबै दृढ इच्छा शक्तिका कारण भएका हुन् । यहीँँ दृढ इच्छा शक्तिका साथ संसारलार्ई एक फन्को लगाउन कस्सिएका युवा हुन्, चितवनका रोशन लामिछाने । उनी मात्र २६ वर्षका भए । उनको यात्रा सकिँदा ३१ वर्षको हुनेछन् । उनी अबको पाँच वर्षसम्म लगातार साइकलमा विश्वयात्रा गर्नेछन् ।
उनले विश्वका १९५ देशका राजधानीसम्म पुग्ने जानकारी दिए । ‘क्यापिटल टु क्यापिटल’ नाराका साथ उनी संसारलार्ई एक फन्को मार्न निस्केका हुन्, गत असार महिनाको १२ गतेदेखि । चितवनबाट औपचारिक विश्व साइकलयात्रा सुरु गरेका उनी सबैभन्दा पहिला पुगे बंगलादेश । त्यहाँ आफू २५ दिनसम्म बसेको उनको भनाइ छ । १ दिन बस्ने भनेर त्यहाँ पुगेका उनी बंगलादेशको तत्कालीन राजनीतिक परिस्थितिका कारण झण्डै एक महिना कोठामै बस्नु परेको उनी बताउँछन् ।
त्यतिबेला बंगलादेशमा चलेको आन्दोलनका कारण प्रधानमन्त्री शेष हसिनाले देशै छोड्नु परेको थियो । त्यतिबेलाको परिस्थितिमा बाहिर निस्कन सम्भव नभएपछि आफू त्यहाँ बस्नु परेको उनले बताए । जुलार्ईमा उनी बंगलादेश छिरेका थिए । म त्यहाँ जाँदा शान्त थियो । आफू ढाका पुगेपछि पूरै देश अशान्त बनेको लामिछानेले बताए । त्यतिबेला १३ दिन त कोठामै बस्नुपरेको उनले सुनाए । त्यतिबेला आफूलार्ई रेडक्रसले रेस्क्यु गरेको उनी बताउँछन् ।
त्यसपछि उनी बंगलादेश हुँदै भारतको कोलकता भएर नेपाल फर्किएका थिए । फेरि उनको यात्रा सुरु भएको छ । यात्राको क्रममा कोहलपुर आइपुगेका उनले अब कन्चनपुरकोे गड्डाचौकी हुँदै नयाँ दिल्लीबाट पाकिस्तान, अफगानस्थान, इरान हुँदै मध्यपूर्वमा पुग्ने बताए । क्रमशः उनको यात्रा अघि बढ्नेछ, साइकलमा । उसो त उनी सानै उमेरदेखि घुमघाममा रूची राख्थे । उनी भन्छन्, ‘तर यसरी संसारै घुम्छु जस्तो लागेको थिएन । एउटा यात्रा सुरु गरेको छु । यसलार्ई जसरी पनि पूरा गरेरै छाड्छु ।’ उनले कोरोनाको समयमा विश्व साइकल यात्री पुस्कर शाहको पुस्तक पढेपछि आफूले पनि संसार घुम्ने साहस आएको बताए ।
उनको ‘संसारलार्ई एक फन्को’ भन्ने किताब उनको विश्व साइकल यात्राको प्रेरणा हो । त्यहीँ पुस्तक पढेकै कारण जसरी पनि विश्वसाइकल यात्रा गर्नुपर्छ भनेर आफू निस्किएको लामिछाने बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको समयमा पुस्तक शाहको किताब पढ्ने अवसर पाएको थिए । त्यो किताब पूरै पढे । पढेपछि चाहेपछि गर्न सकिदो रहेछ त भन्ने लाग्यो । अनि पुस्तक उहाँले समेटेका कुरा मेरो मनमा खेल्न थाले । जसरी पनि ति ठाउँहरूमा पुग्नुपर्छ जस्तो लाग्यो । त्यहीँँ भएर साइकलमा यात्रा गर्ने निधो गरेको हुँ ।’
पुस्तक पढेपछि उनले घरमा आमा बुवालार्ई सल्लाह दिएका थिए सरकारी जागिरे उनका बुवा रोहित लामिछानेले छोराको दृढ विश्वासलार्ई मलजल गरिदिए । उनले एकैपटकमा रोशनको प्रस्ताव स्वीकार गरे । विश्वसाइकल यात्री लामिछानेका अनुसार त्यसपछि परिवारका पूर्ण समर्थनमा विश्व साइकल यात्रा शुभारम्भ भएको हो ।
उनको परिवारमा पाँच जनाको परिवार छ । आमा बुवा र दुई जना भाइ छन् । उनी घरको जेठा छोरा हुन् । उनी जहाँ पुग्नेछन् र त्यहाँ वृक्षरोपण गर्नेछन् । उनी हरेक देशको राजधानीमा पुगेर आफूले रक्तदान गर्नेपनि उनले बताए । उनी लाईन्स क्लब र रेडक्रसमा समेत सामेल छन् । मानवीय सेवामा अग्रणी यी दुई संस्था रहेका देशमा त्यहाँ पुगेर उनीहरूसँग समन्वय गर्ने लामिछानेले बताए । उनले होटल म्यानेजमेन्टमा डिप्लोमा पूरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्