बाँके ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा प्रजातन्त्र दिवसको अवसर पारेर बुधबारदेखि दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दर्पण युवा स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री र खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री खत्रीले खेलकुदको विकासका लागि आफूले सधैँ पहल गर्दै आएको बताए । उनले खजुराको विकास निर्माणमा आफूले सधैँ प्राथमिकता दिएको बताए । गाउँपालिका उपाध्यक्ष मल्ल र वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाले पालिकाले खेलकुदलाई सधैँ प्राथमिकता दिएको बताएका थिए ।
ई गाउँस्थित मनकामना माविको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजक न्यु दर्पण युवा स्पोर्टस् क्लब ‘बी’लाई ट्राइब्रेकरमा पराजीत गरेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न १४ समूहको सहभागिता रहेको छ । कोषाध्यक्ष देवबहादुर बिसीका अनुसार प्रतियोगितामा प्रथमलाई नगद एक लाख ११ हजार १११ रूपैयाँ र दोस्रो हुनेलाई ५५ हजार ५५५ रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । क्लबका सचिव भोला मल्लका अनुसार प्रतियोगिताको फाइनल फागुन १७ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्