गणेश रावत । कोहलपुर ।
बाँकेको कोहलपुरमा बुधबारदेखि ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१सुरु भएको छ । प्रतियोगिताको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले शान्तिको प्रतिक मानिने एक जोडा परेवा उडाएर उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख आचार्यले यु–१९ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता नगरपालिका मात्र नभई क्रमशः देशको पहिचानका रूपमा अघि बढिरहेको बताए ।
उनले छात्रा क्रिकेट प्रतियोगिता आउने दिनहरूमा अझ थप व्यवस्थित रूपमा अघि लैजाने दाबी गरे । शिक्षा क्षेत्रमा मात्र नभई नगरपालिकाले खेलकुद क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको उनले बताए । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्थानीय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि सञ्चालन हुन आवश्यक रहेको नगर प्रमुख आचार्यले बताएका थिए ।
अहिले पनि स्टेडियम् बनिरहेकाले अझै पूर्णता दिन तीनै तहका सरकारसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । नगरपालिकाले खेल क्षेत्रमा गरेको लगानीको प्रतिफल अहिले विस्तारै देखा पर्न थालेको उनको भनाइ रहेको थियो । महिला क्रिकेटरहरू उत्पादनका लागि उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता उपयोगी रहने कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले जानकारी दिइन् । महिला क्रिकेटरको उर्वर भूमिका रूपमा चिनिएको बाँकेमा विगतदेखि प्रतियोगिता सञ्चालन हुँदै ७औँ संस्करणसम्म आएको उनले बताइन् ।
उनले पछिल्लो समय विस्तारै महिलाहरू पनि सक्षम र सवल बन्दै गइरहेको दाबी गरिन् । छात्राहरूलाई विद्यालय स्तरबाटै सक्षम बनाउनुका साथै अगाडी बढाउन प्रतियोगिता सञ्चालन हुँदै आएको उनको भनाइ थियो । उपेयर कपबाट छानिएका खेलाडीहरू जिल्ला स्तरमा समेत खेलिसकेको उनले जानकारी दिइन् ।
नगर खेलकुद समितिका अध्यक्ष चक्र चिमालाले खेलकुद मनोरञ्जनको साधन मात्र नभई व्यक्तित्व विकास, अनुशासन तथा स्वस्थ्य रहन मद्दत पुग्ने बताए । अहिले नेपालमा क्रिकेट खेलप्रतिको रूची बढेको बताउँदै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न प्रतियोगिताले सहयोग गर्ने दाबी गरे ।
प्रतियोगितामा १९ वटा विद्यालय सहभागी रहेका छन् । त्रिभुवन नमुना मावि, कोहलपुर बागेश्वरी मावि, जनज्योति मावि, वेस्टर्न मावि, गोरखा युनाइटेड पब्लिक मावि, सगरमाथा ज्ञानकुञ्ज मावि, लिटिल एन्जल मावि, ज्ञानज्योति मावि चप्परगौडी, जनता मावि, सेन्चुरी मावि, बाल सैनिक मावि, कृष्ण मावि, पञ्चमुखी मावि, नमुना मावि, ग्रिन पिस मावि, लक्ष्मी मावि, एभरेष्ट सैनिक र बागेश्वरी एकेडेमी प्रतियोगितामा सहभागिता जनाएका छन् ।
लक्ष्मी मावि र गोरखा विजयी सुरुवात
७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को पहिलो उद्घाटन खेलमा लक्ष्मी माध्यमिक विद्यालय र गोरखा युनाइटेड पब्लिक स्कुलले विजयी सुरूवात गरेका छन् । लक्ष्मी माविले एभरेष्ट सैनिकलाई र गोरखाले वेस्टर्नलाई हराउँदै विजयी सुरूवात गरेका हुन् ।
पहिलो खेलमा लक्ष्मी माविले एभरेष्ट सैनिक माविलाई १२५ रनको फराकिलो अन्तरले जीत हासिल गरेको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन प्रतियोगितामा लक्ष्मी माविले टस जीतेर पहिले ब्याटिङ रोजेको थियो । एभरेष्ट सैनिकलाई बलिङको निम्तो दिएको लक्ष्मी माविले १५ ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
लक्ष्मी माविले दिएको १६४ रनको लक्ष्य एभरेष्ट सैनिकले ९ विकेट गुमाउँदै ३९ रनमा मात्रै समेटिएको हो । लक्ष्मी माविलाई जीत दिलाउन गिता परियारले ४ विकेट लिएर प्लेयर अफ द म्याच समेत प्राप्त गरिन् । यस्तै दोस्रो खेलमा गोरखा युनाइटेड पब्लिक स्कुलले वेस्टर्न स्कुललाई ७ रनले हराएको थियो ।
९२ रनको लक्ष्य पाएको गोरखा स्कुलले ५ विकेट गुमाउँदै ९९ रन बनाएर विजयी हासिल गरेको हो । उक्त खेलको प्लेयर अफ द म्याच गोरखा स्कुलकी विपिका ओलीले प्राप्त गरिन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सिनियर कोच दिपेन्द्र प्रताप सिंहले प्लेयर अफ द म्याच हस्तान्तरण गरेका थिए । पहिलो दिन दुई वटा खेल सञ्चालन भएका थिए ।
प्रतिक्रिया दिनुहोस्