कोहलपुर (बाँके) ।
नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमकाबीच कोहलपुर नगरपालिका नगर कार्यपालिकाको सभा हलमा तेस्रो नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको एक समारोहमा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै उनले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएको बताए । उनका अनुसार नेपाली कांग्रेस वीपी कोइरालाको नीति अनुसार अघि बढिरहेको छ । ‘कोहलपुरमा नेपाली कांग्रेस अघि अग्रस्थानमा छ । विभिन्न तहमा हामी छौँ । जनताको पक्षमा काम गर्नुपर्छ । नेपाली कांग्रेसलाई सधैँ पहिलो पार्टी बनाउनुपर्छ’ सभापति गौडेलले भने ।
सम्मेलनको क्रममा नगर पार्टी सभापति वीरेन्द्रकुमार शाहले, नीति तथा कार्यक्रम, सचिव बालकुमार शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हरिशरण केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । १५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभापति शाहले शुशिल कोइराला स्मृति भवन निर्माणका लागि नगरपालिकासँग जग्गा माग गर्ने, ७० वर्ष कटेका नेताहरूलाई सम्मान गर्ने, जनप्रतिनिधिसँग अन्तक्र्रिया गरिने र टोल, वडा, नगर विकास निर्माणको काममा स्थानीय सरकारसँग हातेमालो गर्ने बताए ।
उनका अनुसार विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिने र भातृ संगठनलाई चलायमान गराउने नीति तथा कार्यक्रम रहेको छ । यस्तै पार्टी भित्रको वैचारिक मतभेदको अन्त्य गरी पार्टीको संगठन, सवलीकरण र बलियो बनाउने सभापति शाहको भनाइ थियो ।
यस्तै पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नगर पार्टी सचिव बालकुमार शर्माले एक वर्षको अवधिमा नियमित बैठक, सर्वदलीय बैठक, पार्टी र जनप्रतिनिधिबीच बैठक, अग्रज नेताहरूसँग बैठक वडा सभापतिसँग बैठक बसेको बताए । कोहलपुरमा २ हजार २ सय ३३ जना साविक क्रियाशील सङ्ख्या, नविकरण भएका क्रियाशीलहरूको सङ्ख्या १ हजार ७ सय ५१ जना रहेको उनले बताए ।
सो अवसरमा सचिव शर्माले १४ बुँदे प्रस्तावित योजना तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । पार्टी संयन्त्रलाई चलायमान गराउने, प्रशिक्षण तथा अन्तक्र्रिया गरिने, केन्द्रीय नीति अनुसार क्रियाशील सदस्यता वितरण गर्ने योजना रहेको उनको भनाइ छ । युवा लक्षित कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि स्थानीय सरकासँग समन्वय गर्ने, पार्टी र जनताको सम्बन्ध सुमधुर बनाउने, आगामी निर्वाचनलाई लक्षित गर्दा दीर्घकालीन रणनीतिक योजना बनाउने शर्माले बताए ।
१२० दिने अभियानको क्रममा उठेका सुझावलाई कार्यान्वयनका लागि पार्टीसँग पहल गर्ने र स्थानीय जनप्रतिनिधि र पार्टी प्रतिनिधिको संयन्त्र गठन गरिएको छ । कोहलपुरमा नगरपालिकासहित २२ वटा संघ संस्थामा नेपाली कांग्रेसको नेतृत्व रहेको छ । २०८० श्रावणदेखि २०८१ माघ मसान्तसम्म आय व्यय प्रस्तुत गर्दै कोषाध्यक्ष हरिशरण केसीले आम्दानी र खर्च १३ लाख ५० हजार रूपैयाँ रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्