धनगढी ।
तेस्रो संस्करणको कैलाली प्रिमियर लिगको तयारी पूरा भएको छ । आयोजक जिल्ला क्रिकेट संघ कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको लागि आवश्यक मैदान निर्माणको कामदेखि लिएर अतिथि निमन्त्रणा दिने र प्राविधिक गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
आज फागुन ७ गतेबाट सुरु हुने प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरीका १२ वटा नगरपालिकाका टिमले सहभागिता जनाउँनेछन् । प्रतियोगिताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले रहेको र अन्य विभिन्न संघ संस्थाहरूले सहयोग गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने कैलाली प्रिमियर लिगको यो तेस्रोे संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोस्रोे संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
तेस्रोे संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ‘ए’ मा गोदावरी नगरपालिका ‘ए’, पुर्नवास नगरपालिका र शुक्लाफाँटा नगरपालिका, समूह ‘बी’ मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका ‘बी’, समूह ‘सी’ मा त्रीवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका तथा समूह ‘डी’ मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन् ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगितामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २५ सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिम र शुक्लाफाँटा नगरपालिकाबीच खेल हुनेछ । त्यसैदिन घोडाघोडी नगरपालिका र पुर्नवास नगरपालिका ‘बी खेल्नेछन् । सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्