दाङ ।
विद्यार्थी सिकाइ, संस्कार क्षमता प्रवद्र्धन गर्न लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले एकदिने शैक्षिक सिकाइ मेला आयोजना गरेको छ । घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रवद्र्धन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले एकदिने शैक्षिक सिकाइ मेला आयोजना गरिएको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए ।
एकदिने शैक्षिक सिकाइ मेलाको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख देवमणी चौधरीले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन मेलाले निकै महत्व राख्ने बताए । उनले सामुदायिक तथा निजी विद्यालयमा शैक्षिक गुणस्तरका साथ घरपरिवार तथा समाजमा संस्कार खस्किदै गएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने दाबी गरे । शैक्षिक मेलाले विद्यालयमा पठन संस्कृतिको विकास हुने विश्वास समेत उनले व्यक्त गरेका थिए ।
गोरखा मोडेलका प्राचार्य रिजालले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताए । उनले शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीको विकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जागृत भएको उल्लेख गरेका थिए ।
उनले स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहेका शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको दाबी गरे ।
यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने र बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन, जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको प्राचार्य रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस्