‘कर्णाली समस्याको खाल्डो मात्रै होइन सम्भावनाको सरोवर पनि हो’



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश समस्याको खाल्डो मात्रै नभई सम्भावनाको सरोवर पनि रहेको दावी गरेका छन् । सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर समेत भएको बताए ।

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको भन्दै पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जानकारी दिए । कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भई काम अगाडि बढ्ने प्रक्रियामा रहेको उनले बताए ।
‘अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भएका छन्’ उनले भने, ‘कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार छन् । आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै छ ।’

वर्षौंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको उनले बताए । कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भएको भन्दै सम्भावनाको सरोवर बनाउने काममा ध्यान पुुगेको उनको भनाइ छ ।
‘कर्णालीले मानसरोवर एवम् मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ’ उनले थपे, ‘मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् ।’

कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट रहेको भन्दै कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत रहेको उनले टिप्पणी गरे । पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरूले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे । ‘यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापी हुन सक्दैन, व्यक्तिका तमाम कमजोरीहरू होलान, सत्ता संचालन र शासनमा आमूल सुधारको अपेक्षा होला, त्यसलाई अन्यथा मान्दैन, उनले भने, आवधिक निर्वाचन मार्फत सार्वभौम नागरिकले त्यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने हामीले व्यवस्था गरेका छौँ । तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्थाप्रति घृणा फैलाउने र नागरिकलाई राज्यप्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ न नागरिकले सन्तुष्टी प्राप्त गर्न सक्दछन् ।’

कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतिले तीनवटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘युवाहरू विदेश जानुुअघि कामको लागि सीप, तालिम नलिनुु र त्यसको अवस्थालाई बुझ्न नसक्दा थुप्रै युवाहरूले समस्या भोग्नुपरेको छ । त्यसैले सकेसम्म रोजगारीमा जानुपूर्व सीप सिकेर जानुपर्छ, तालिम लिएर मात्र जाने कुरामा सचेत गराउनुपर्छ ।’

नेपाल सरकारका पूर्व सचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृङ्खला सुरु गरौँ भनेर कर्णाली उत्सव सुरु गरिएको बताए । कर्णालीका समस्याहरूलाई राष्ट्रिय समस्याका रूपमा स्थापित गर्नका लागि पनि यस्ता खालका बहसहरू उपयुक्त हुुने उनको भनाइ छ । पछाडि परेको वर्ग समुदायलाई माथि उठ्नका लागि यस्ता खालका नीति बहस निकै आवश्यक रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार