वीरेन्द्रनगर ।
दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा ११ वर्षीय बालकको हत्या गरिएको छ ।
दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार २ जना बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन बनेका थिए ।
त्यसपछि घर परिवारले वरपर सबैलाई सोधपुछ गर्दा पनि उनी फेला परेका थिएनन् । प्रहरी निरीक्षक सुनारका अनुसार माघ २६ गते परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको सुनारले बताए ।
बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे प्रहरीले अनुसन्धान गरेको थियो । शनिबार नियन्त्रणमा लिई २ बालकसँग सोधपुछ गर्दा आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनी गाडेको बयान दिएका थिए ।
सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । हत्या अभियोगका ती २ बालकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्