नेपालगन्जमा हात्तीपाइले विरुद्ध औषधि सेवन अभियानः आएनन् स्वास्थ्यमन्त्री, वडाध्यक्षहरू र स्थानीयबासी



औपचारिक पत्रमै औषधि सेवन अभियानको सुरुवात गर्न संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल आउन लागेको भनेर सम्बद्धहरूलाई आमन्त्रित गरिएको थियो । तर, कार्यक्रममा मन्त्री त परै जाओस्, नेपालगन्ज उपमहानगरकै कुनै पनि वडाध्यक्षसमेत सहभागी भएनन् । कार्यक्रममा उपमहानगरपालिकाको जनप्रतिनिधिको रूपमा नगर प्रमुख तथा नगर उप प्रमुखमात्रै सहभागी थिए ।

 

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कमा सोमबार १४औँ पटक हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । तर, जुन तप्काका लागि कार्यक्रम आयोजना गरिएको थियो तिनको कार्यक्रममा सहभागिता नै थिएन । सोमबार बिहान ११ बजे आयोजना गरिएको कार्यक्रम १२ बज्न लाग्दा पनि सुरु भएको थिएन । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँके, उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका कर्मचारी, केही स्वास्थ्य स्वयंसेविका, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र पत्रकारबाहेक अरु कोही पनि सहभागी थिएनन् ।

नेपालगन्ज उपमहानगरपालिकाले औपचारिक पत्रमै औषधि सेवन अभियानको सुरुवात गर्न संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल आउन लागेको भनेर सम्बद्धहरूलाई आमन्त्रित गरेको थियो । तर, कार्यक्रममा मन्त्री त परै जाओस्, नेपालगन्ज उपमहानगरकै कुनै पनि वडाध्यक्षसमेत सहभागी भएनन् । कार्यक्रममा उपमहानगरपालिकाको जनप्रतिनिधिको रूपमा नगर प्रमुख तथा नगर उप प्रमुखमात्रै सहभागी थिए ।
कार्यक्रममा सहभागी हुन स्थानीयबासीहरू नआएपछि स्वास्थ्यकर्मीहरू आसपासका घरघरमा गएर कार्यक्रममा सहभागी हुन आग्रह गरे । उनीहरूले मन्त्री आउन लागेको भनेर समेत स्थानीयहरूलाई फकाउन खोजे । तर, एकजना स्थानीय पनि कार्यक्रममा सहभागी भएनन् ।

कार्यक्रम स्थलनजिकै घर भएका स्थानीयहरू पनि ढोकाबाट चियाएर कार्यक्रमस्थल हेरिरहेका थिए । तर, बाहिर निस्कन मानिरहेका थिएनन् । घरमा गएर स्थानीयहरूलाई कार्यक्रममा बोलाउने काममा खटिएकी एक स्वास्थ्यकर्मीले स्थानीयहरूले कसैले खाना नखाएको, कसैले बिरामी रहेको त कसैले बिहेमा जानुपर्ने बाहना बनाएर कार्यक्रममा आउन नमानेको बताइन् ।

कार्यक्रममा स्थानीयहरू सहभागी नै नहुने अवस्था आएपछि नजिकै रहेको नेपालगन्ज टेक्निकल कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई पठाइदिन आग्रह गरियो । विद्यार्थीहरू आएपछि बल्ल मञ्च अघिका कुर्सीहरू भरिए । त्यसपछि सुरु भयो औपचारिक कार्यक्रम ।

अभियानको सुभारम्भ गर्ने कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुमगर पनि सहभागी हुन आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर संघीय मन्त्री र प्रदेशका मन्त्री दुवै जना नआउने जानकारी आएको मञ्चबाट उद्घोषकले जानकारी गराए । कार्यक्रममा सहभागीहरू नगर प्रमुख, नगर उप प्रमुख, जिल्ला समन्वय समितिका संयोजक, बाँकेका प्रमुख जिल्ला अधिकारीलगायतले औषधि सेवन गरेर अभियानको सुरुवात गरिएको थियो ।

नागरिकहरूले औषधि सेवन गर्न नमान्दा बाँके जिल्लाको नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १४औँ पटक औषधि सेवन अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । नेपालगन्जमा त शिक्षक, व्यापारी तथा स्वास्थ्यकर्मीले नै औषधि सेवन नगर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यसैकारण बाँके जिल्ला देशमै हात्तीपाइलेको जोखिममा रहेका एकमात्र जिल्ला बनेको छ ।

यस्तो अवस्थामा स्वास्थ्यमन्त्री नै आएर आफैँले औषधि सेवन गरी अभियानको सुरुवात गराउने र अभियान सफल बनाउन सबैलाई आह्वान गर्ने अपेक्षा गरिएको थियो । त्यसले नागरिक तथा स्थानीय जनप्रतिनिधिहरूलाई अभियानमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको केही दिनदेखि नेपालगन्जमै रहेका इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यदुचन्द्र घिमिरेले पत्रकारहरूसँग बताएका थिए ।

तर, मन्त्रीले पहिले आउने भनेर नआउनुले कार्यक्रम सफल बनाउन सरकार गम्भीर नभएको देखिने नेपालगन्जका एक चिकित्सकले बताए । हरेक वर्ष करोडौँ बजेट खर्च भइरहेको कार्यक्रमको समस्याग्रस्त ठाउँमै स्वास्थ्यमन्त्री आउने भनेर पनि नआउनुले नागरिकहरूमा नकारात्मक सन्देश जाने उनले बताए ।

पुरानै रणनीतिले असफल अभियान 

हरेक वर्ष अभियान सुरु गर्नुअघि होटलहरूमा समाजका अगुवा, जनप्रतिनिधि र सञ्चारकर्मीहरूसँग छुट्टाछुट्टै अन्तक्र्रिया गरिन्छ । जहाँ हात्तीपाइलेको औषधिको महत्वबारे जानकारी गराइन्छ । तर, समुदायस्तरमा त्यस्ता खालका कार्यक्रम नै गरिँदैनन् । होटलको हलमा कार्यक्रम गरेर मात्रै नहुने र समुदायस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सञ्चारकर्मी बताउँछन् ।

अभियानको सुरुवाती वर्षमा केही व्यक्तिहरूमा औषधिको प्रतिअसर देखिएपछि फैलिएको भ्रम चिर्ने काम पनि कर्मकाण्डी तवरले मात्रै भइरहेका छन् । औपचारिक कार्यक्रममा चिकित्सक र धार्मिक अगुवाहरूलाई भाषण गर्न लगाइन्छ । तर, समुदायस्तरको अभियानमा उनीहरूलाई सहभागी गराइँदैन ।

अर्काेतिर, स्थानीय जनप्रतिनिधिहरूले नै अभियान सफल बनाउन मेहनत गर्दैनन् । उनीहरूलाई प्रयोग गर्न स्वास्थ्य कार्यालय तथा स्थानीय तहका स्वास्थ्य शाखाहरू चुकेका छन् ।

एकजना चिकित्कसले भने, ‘अभियानका नाममा विभागदेखि डब्लुएचओका प्रतिनिधिहरू होटलमा महंगो कोठा दिएर हप्तौँसम्म बस्नुहुन्छ । यसबाटै देखिन्छ यस कार्यक्रमका लागि कति खर्च भइरहेको छ भनेर । यदि अभियान सफल भइरहेको छैन भने कार्यक्रम व्यवस्थापनका नाममा हुने यस्तो फजुल खर्च हटाएर बरु नागरिकलाई नै केही उपहार दिने व्यवस्था गर्ने हो भने कार्यक्रम सफल भइसक्थ्यो ।’

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार