कपिलवस्तु ।
कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइने निर्णय गरिएको छ । दिवस मनाउनका लागि जिल्लाका सबै सरकारी कार्यालय, स्थानीय तह लगायतका सरोकारवालाहरूले आपसी समन्वयमा कार्यक्रम सञ्चालन गरी भव्यताका साथ मनाउने निर्णय गरेका छन् ।
फागुन ६, ७ र ८ गते तीन दिनसम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयहरूका छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरूमा र स्थानीयका घरघरमा समेत दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको छ ।
६ गते सामाजिक विकास डिभिजन कार्यालयको सहयोगमा तौलेश्वरनाथ संस्कृत माविका फरक क्षमता भएका विद्यार्थीहरूका लागि शैक्षिक तथा अन्य सामाग्री वितरण गरिने, बिहान ८ बजेदेखि खानेपान ितथा सरसफाइ डिभिजन कार्यालयको व्यवस्थापनमा जिल्लामा रहेका सार्वजनिक, सांस्कृतिक र पुरातात्विक स्थान (तिलौराकोट)मा सरसफाइ गरिने बताइएको छ ।
त्यसैगरी ७ गते प्रभातफेरी (बजार परिक्रमा) कार्यक्रमपश्चात् कर्मचारी मिलन केन्द्रले कपिलवस्तु जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताए । कपिलवस्तु नगरपालिकाको व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कपिलवस्तु अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्