मेयर कप फुटबल : ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन



बाँके ।

ब्राइटल्याण्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगन्जलाई सडनडेथमा हराउँदै च्याम्पियन बनेको हो । गल्र्सतर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले आदर्श मावि नेपालगन्जलाई ४–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

आइतबार पुरुषतर्फको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको थियो । ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनका लागि अनमोल गुरुङ, जोन थारू, श्रीरिस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गरे । ग्रीनपीसको लागि विशाल थापामगर, बिराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारीले गोल गरे ।

फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सान बुढाले प्राप्त गरे । उनलाई एचसीआरसी हस्पिटलका अध्यक्ष डा.कुमारसान शाह र युथ ओलम्पिक एम्बेसडर चाहना शाहले पुरस्कृत गरेका थिए ।

यसैगरी गल्र्सतर्फको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सका लागि रमिता कुमारी बडुवाल र रेश्मा थारूले २–२ गोल गरेका थिए । रमिताले २५औँ र २६औँ मिनेटमा र रेश्माले ४५औँ र ५७औँ मिनेटमा गोल गरेका थिए । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बढुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् । उनलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण विभाग प्रमुख जयन्तकुमार श्रेष्ठले पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलका सिरिस रावत र महिलातर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारू सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत भए । उनीहरू रूपैयाँ जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले पुरस्कृत गरे ।

विजेता खेलाडीहरूलाई नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव कमल खत्री, उपमहासचिव दिर्घराज आचार्य कौशल, एचसीआरसी हस्पिटलका अध्यक्ष डा.कुमारसान शाह, निर्देशक रमेश सिटौला, कोहलपुर नगरपालिका खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, राखेपका पूर्वसदस्य राजेन्द्र शाही, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पूर्वराष्ट्रिय खेलाडी तेजबिक्रम शाह, गोविन्दप्रसाद श्रेष्ठ, समसुद्दिन सिद्धिकी, महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाह, निजामुद्धिन सिद्धिकी, युथ ओलम्पिक एम्बेसडर–२०२२ लगायतले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता रूपैयाँ टिमले नगद ३० हजार रूपैयाँ, उपविजेताले १५ हजार रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ५ गते सोमबार