नेपालगन्ज ।
बाँके जिल्ला हात्तीपाइले रोग विरुद्धको औषधी खाइरहनुपर्ने एउटा मात्रै जिल्ला बनेपछि संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल नेपालगन्ज आउने भएका छन् । पौडेलको उपस्थितिमा नेपालगन्जमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु गरिँदै छ ।
नेपालगन्जको महेन्द्र पार्कबाट औपचारिकरूपमा १४औैँ पटकको हात्तीपाइले औषधी सेवन अभियान सुरु गर्न लागिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । हात्तीपाइलेको औषधी सचेत र जिम्मेवार वर्गले नै नखाइदिँदा बाँके जिल्ला हात्तीपाइलेको जोखिम भएको एउटामात्रै जिल्ला बनेको छ । यसपटकको अभियानबाट ८० प्रतिशत बढी नागरिकले औषधी सेवन गरेमा मात्रै जोखिमबाट मुक्त घोषणा गरिने लक्ष्य लिइएको छ ।
बाँकेका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा मात्रै फेरि औषधी सेवन कार्यक्रम सञ्चालन गरिँदैछ । हात्तीपाइलेको औषधिको पहुँचका विषयमा गरिएको सर्वेक्षणको नतिजाले गतवर्ष २७ प्रतिशत स्वास्थ्यकर्मीले नै औषधी नखाएको पाइएको छ ।
यसैगरी, ४२ प्रतिशत शिक्षक, ५६ प्रतिशत व्यापारी, ४२ प्रतिशत कर्मचारी र ३८ प्रतिशत विद्यार्थीले नै औषधी सेवन नगरीदिँदा खानेहरूसमेत अझै हात्तीपाइलेको जोखिममा रहेको पाइएको हो ।
हात्तीपाइलेको औषधी एक पटकमा निश्चित क्षेत्रका ८० प्रतिशत नागरिकले सेवन नगरेसम्म सबै नागरिकहरू जोखिममै रहन्छन् । तर, नागरिकहरूले औषधी नै नखाइदिँदा ६ वर्षको लक्ष्य राखेर सुरु गरिएको औषधी सेवन अभियान १४औँ वर्षमा पुगेको छ । यसपटक औषधी सेवन अभियानमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक तथा समाजका अगुवाहरूलाई बढीभन्दा बढी प्रयोग गर्ने तयारी रहेको नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्