कान्ति तालका संरचना तोडफोड र लुटपाट



नेपालगन्जको पुरैनास्थित कान्ति तलाउमा नेपालगन्ज उपमहानगरपालिकाले करिब १० करोड रूपैयाँ खर्चेर रमणीय ताल बनायो । तालमा केही संरचनाहरू अझै बनाउन बाँकी नै छन् । उद्देश्यअनुसार तालमा पर्यटकीय गतिविधि हुन पाएकै छैनन् । तर, पार्कमा बनाइएका संरचनाहरू तोडफोड र चोरी भएर जीर्ण बन्ने बाटोतिर अघि बढेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

कुनैबेलाको बंगुरसुँगुर खेल्ने र फोहोर फाल्ने ठाउँ बनेको नेपालगन्जको पुरैनास्थित कान्ति तलाउमा नेपालगन्ज उपमहानगरपालिकाले करिब १० करोड रूपैयाँ खर्चेर रमणीय ताल बनायो । तालमा केही संरचनाहरू अझै बनाउन बाँकी नै छन् । उद्देश्यअनुसार तालमा पर्यटकीय गतिविधि हुन पाएकै छैनन् । तर, पार्कमा बनाइएका संरचनाहरू तोडफोड र चोरी भएर जीर्ण बन्ने बाटोतिर अघि बढिसकेको छ ।

पछिल्ला केही दिनयता अज्ञात व्यक्तिहरूले कान्ति तालको वरिपरि लगाइएको रेलिङ नै भत्काएर चोरी गरेका छन् । त्यो पनि थोरै होइन करिब १८ सय मिटर रेलिङमध्ये तीन सय मिटर रेलिङ तोडफोड गरिएको छ । रेलिङमा लगाइएको फलामका केही पाइपहरू पनि चोरी भएका छन् । लगातार करिब एक सय मिटरसम्म पाइपसहितको रेलिङ भत्काइएको छ ।

ताल सञ्चालनका लागि वार्षिक करिब २८ लाख रूपैयाँ उपमहानगरपालिकालाई राजस्व बुझाउनेगरी ठेक्का लिएका फनबहादुर गुरुङले लागूऔषध दुव्र्यसनीहरूले रेलिङ तोडफोड गर्ने काम गरेको हुनसक्ने अनुमान गरिएको बताए । साँझको समयमा उक्त तालमा लागूऔष दुव्र्यसनीहरू जम्मा हुने गरेका उनले बताए ।

तालका संरचनाको सुरक्षाको जिम्मा पनि ठेकेदार पक्षकै रहेको सम्झौतामा उल्लेख छ । त्यसका लागि ठेकेदार पक्षले एकजना चौकीदार पनि खटाएको छ । तर, ती चौकीदार कतिबेला रेलिङ तोडफोड गरियो थाहा नभएको बताउँछन् । ‘राती एक्लै हुन्छु । तालमा अन्धकार हुन्छ । कतिबेला त्यस्तो भयो थाहै भएन,’ ती चौकीदारले भने ।

रेलिङ भत्काएर निकालिएका फलामका पाइपहरू सकेजति संकलन गरेर राखेको गुरुङले बताए । तर, केही पाइपहरू पनि चोरी गरेर लगिसकेका उनको भनाइ छ । उनले भने, ‘एउटै पाइपको करिब पन्ध्रसय त हुन्छ होला । दुव्र्यसनीहरूलाई त चारपाँच सय भएपनि प्रशस्त भयो । उनीहरूले नै यो काम गरेका हुनसक्छन् भन्ने हामीले अनुमान गरेका छौँ ।’

अहिले नै कति क्षति भयो भन्ने यकिन नभैसकेपनि पुनर्निर्माण गर्नलाई लाखौँ खर्च लाग्ने अनुमान गुरुङको छ । यता नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट पनि क्षतिबारे अनुसन्धान भइरहेको बताउँछन् ।
कान्ति तलाउलाई उपमहानगरपालिकाले ठेक्का लगाउने बेला तालको फुटपाथमा विभिन्न ठाउँमा आराम गर्नका लागि बेञ्चहरू राखिएका थिए । हाल तीमध्ये तीनवटा बेञ्चहरू मात्रै देखिन्छन् । ती पनि टुटफुट गरिएका छन् । यसैगरी तालमा झर्नका लागि बनाइएका सिँढीमा लगाइएका रेलिङहरू पनि भाँचिएको अवस्थामा थन्काइएका छन् ।

ताल सञ्चालनको ठेक्का लिएका गुरुङ रेलिङ निर्माणका बेला नै कमसल निर्माण गरिएकोले सजिलै रेलिङहरू भत्किने अवस्था रहेको बताउँछन् । ‘मानिसहरू मर्निङ वाकमा आउँदा रेलिङमा हात राखेर पुसअप गर्दा पनि हल्लिने गरेका छन् । गेटतिर अलि बलियोगरी निर्माण गरिएपनि बाँकी भागमा कमसल निर्माण गरेको आशंका लागेको छ,’ गुरुङले भने ।

उनले तालमा भएका संरचनाको सुरक्षाकै लागि भनेर गार्ड राखेको भएपनि रातको समयमा बदमासी गर्नेहरूलाई रोक्न सम्भव नदेखिएको बताउँछन् । सुरक्षाका लागि प्रहरीलाई जानकारी गराएको र अहिले प्रहरीले राती गस्ती बढाएको उनको भनाइ छ ।

उक्त ताल नेपालगन्जको वडा प्रहरी कार्यालयबाट साढे दुई किलोमिटरको दूरीमा मात्रै छ । तर प्रहरीमा यस विषयमा अहिलेसम्म न ठेकेदार न नेपालगन्ज उपमहानगरपालिकाले आधिकारिकरूपले जानकारी गराएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम रेलिङ भाँचिएको विषयमा आधिकारिक जानकारी नआएको बताउँछन् । तर, उक्त क्षेत्रमा लागूऔषध दुव्र्यसनीहरूको गतिविधि हुने गरेको सूचनाका आधारमा गस्ती बढाइएको र प्रायः गस्तीमा कोही न कोही दुव्र्यसनी पक्राउ पर्ने गरेको बताउँछन् । ‘रेलिङ तोडफोड भएको रहेछ भने त्यस विषयमा पनि जानकारी लिन लगाउँछु,’ उनले मिसन टुडेसँग भने ।

नगर प्रमुख विष्टले पनि रातको समयमा लागूऔषध दुव्र्यसनीहरूले नै त्यस्तो बदमासी गरेको हुनसक्ने अनुमान गरिएको बताउँछन् । उनले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको पनि बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने, र ताललाई परिक्रमा गर्ने करिब १८ मिटर लामो फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ । त्यसका लागि करिब नौ करोड ४८ लाखमा ठेक्का भएकोमा अहिलेसम्म करिब १० करोड रूपैयाँ खर्च भइसकेको उपमहानगरपालिका बताउँछ ।

तालमा छैन बत्तीको व्यवस्था

कान्ति तालका लागि भनेर खरिद गरिएको एउटा स्ट्याबलाइजर करिब चार वर्षदेखि नेपालगन्ज डुडुवा सडकको किनारमा बेवारिसे थन्काइएको छ । उक्त स्ट्याबलाइजर खरिद गरिएपनि एकपटक पनि प्रयोगै नगरी थन्काइएको छ । उक्त मेसिन प्रयोग नल्याएर खुला आकाशमुनि त्यसै थन्क्याइँदा बिग्रिसकेको अनुमान गरिएको छ । तालमा बत्ती र पानी भर्ने मोटरका लागि भनेर व्यवस्था गरिएको ट्रान्सफर्मर पनि चल्दैन । त्यसकारण कान्ति तलाउ रातको समयमा अन्धकारमय हुन्छ ।

ताल वरिपरि पोलमा लगाएका बत्तीहरू बल्दैनन् । त्यही मौकामा लागूऔषध दुव्र्यसनी र बदमासहरूले अवाञ्छित क्रियाकलाप गरिरहेका पाइएको छ । तीनवटा ठाउँबाट तालमा पुग्न सकिने अवस्था रहेकोमा बदमासी गर्नेहरू प्रहरी तथा सुरक्षाकर्मी आएको थाहा पाउने बित्तिकै लाखापाखा लाग्ने गरेका तालको सञ्चालनको ठेक्का लिएका फनबहादुर गुरुङ बताउँछन् ।

गुरुङले आफूले पटक–पटक तालमा बत्तीको व्यवस्था गरिदिन भनेर उपमहानगरपालिकाका नगर प्रमुख र नगर उप प्रमुखलाई आग्रह गर्दा पनि व्यवस्था नगरिएको बताए । ‘हुन्छ, हुन्छ भन्नुहुन्छ । तर काम हुँदैन,’ उनले भने ।
तालमा पानी भर्नका लागि जडान गरिएको मोटरलाई चलाउन बिजुलीको व्यवस्था नभएका कारण ताल सुख्खा हुने जोखिम रहेको उनले बताए । ‘अहिले हामीले तालबाट पानी बाहिर फालेर नयाँ पानी भर्नुपर्ने हुन्छ । तर, मोटर नै नचल्ने भएपछि अब पानी कसरी भर्ने ?,’ गुरुङले भने ।

यता नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट कान्ति तालमा बिजुली बत्ती व्यवस्था गर्ने विषयमा काम अघि बढिरहेको बताउँछन् । उनले मिसन टुडेसँग भने, ‘तालमा बिजुली बत्ती नभएर अँध्यारोको मौकामा त्यस्तो बदमासी भएको हामीले पनि अनुमान गरेका छौँ । बिजुलीको व्यवस्थाका लागि प्रक्रिया अघि बढिसकेको छ । बजेट ठूलो लाग्ने भएर तुरुन्त काम गर्न नसकिएको हो ।’

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार