नेपालगन्ज ।
महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्जमा आयोजना गर्न लागेको प्रदेशस्तरीय प्रदर्शनीको तयारी तीव्र बनाएको छ । संघले स्टल बुकिङ्ग, समन्वय सहकार्य, आर्थिक व्यवस्थापन, प्रदर्शनीमा सहभागी हुनेहरूको व्यवथापन लगायतको कार्यहरूलाई तीव्रता दिइरहेको छ । प्रदर्शनीको तयारी तीव्ररूपमा अगाडी बढिरहेको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोख्ररेल बस्नेतले बताइन् । उनका अनुसार प्रदर्शनीलाई भव्य बनाउन विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी पनि दिइसकिएको छ । संघले यसपटक गर्न लागेको प्रदर्शनी नवौँ संस्करण हो ।
संघले यही फागुन ६ देखि १० गतेसम्म नेपालगन्जको बागेश्वरी मन्दिरमा रहेको पार्कस्थलमा प्रदर्शनी लगाउन लागेको अध्यक्ष बस्नेतले बताइन् । संघले लगाउने प्रदर्शनी अन्य प्रदर्शनी भन्दा फरक हुने अध्यक्ष बस्नेतले बताइन् । उनले भनिन्, ‘हाम्रो उद्देश्य भनेको महिला उद्यमीले उत्पादन गरेका वस्तु उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने हो ।’
विगतको भन्दा यसपटकको प्रदर्शनीमा केही फरक गतिविधि गर्ने संघले तयारी गरिरहेको छ । प्रदर्शनी संयोजक रेवती सिंहले यस पटक महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यमी उत्प्रेरणा कार्यक्रम’ गरिने बताइन् । उनका अनुसार प्रदर्शनी उद्घाटनको भोलिपल्ट फागुन ७ गते नगरपालिका, बैंकिङ्ग क्षेत्र, विज्ञ र जनप्रतिधिको सहभागितामा उद्यमी उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिनेछ ।
८ गते युवा उद्यमशीलता तथा रोजगार उत्पे्रेरणा कार्यक्रम हुनेछ भने फागुन ९ गते सफल उद्यमीको अनुभव आदानप्रदान कार्यक्रम गरिने संयोजक सिंहले बताइन् । संयोजक सिंहका अनुसार ६० वटा स्टलमध्ये हालसम्म ४१ स्टल बुक भइसकेका छन् ।
प्रदर्शनीमा बाँकेसहित बर्दिया, दाङ, रूकुम, प्युठान, सुर्खेत, रोल्पा जिल्लाबाट महिला उद्यमी आउने तय भएको छ । यसबाहेक अन्य जिल्लाका महिला उद्यमी पनि आउने कुराकानी भइरहेको संयोजक सिंहले जानकारी दिइन् ।
प्रदर्शनीको स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, खाजा नास्ताका परिकार, बेतबाट निर्मित सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अचार, मह, जुत्ता, ह्याण्ड मेड, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका वस्तु हुनेछन् ।
स्थानीय सरकारको प्रभावकारी समन्वय सहकार्य भएकै कारण हालसम्म संघले महिलाहरूलाई अवसर सिर्जना गर्न सफल भएको संघकी उपाध्यक्षसमेत रहेकी सिंहले बताइन् ।
प्रदर्शनीमा स्टल लिएर आउने बाहिरका महिला उद्यमीलाई विगतका वर्षजस्तै आते जाते, बस्ने र खानाको व्यवस्थापन गर्ने गरी तयारी गरिरहेको आर्थिक समिति संयोजक आभा गौतमले बताइन् ।
ग्रामीण भेगमा रहेका महिलाहरूले उत्पादन गर्दै आएका र निर्माण गर्दै आएका सामाग्रीहरूलाई बजार (उपभोक्ता)सम्म सहज रूपमा पु¥याउनका लागि बाँकेका सबै स्थानीय तहसँग समन्वय सहकार्य गरिएको संघकी द्धितीय उपाध्यक्षसमेत रहेकी संयोजक गौतमले जानकारी दिइन् । मेलामा सहभागी भएका महिला उद्यमीले उत्पादन गरेका सामान आफैँ बाहिरसमेत पठाउन थालेका छन् । साथै मेलाले उद्यमी सोच भएका कैयौँ महिलाहरूलाई उद्यमीसमेत बनाएको संघले जनाएको छ । प्रदर्शनी मेला एक प्रकारको अवसरका रूपमा रहेको छ ।
महिला उद्यमीले उत्पादन गरेका सामानलाई सजिलै उपभोक्तामाझ पु¥याउने एकदमै राम्रो अवसर भएकाले प्रदर्शनी लुम्बिनी प्रदेशले गर्व गर्ने विषय भएको संघको लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन् । प्रदर्शनीमा करिब १४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनीमा करिब १५ हजार अवलोकनकर्ताले भ्रमण तथा अवलोकन गर्ने संघको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्