बागलुङ ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई १ करोड रूपैयाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि १ लाख रूपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रूपैयाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका १ सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् । ‘दुई दिनमा १ करोड रूपैयाँ बचतकर्तालाई फिर्ता गरियो,’ उनले भनिन् ।
गल्कोट र ढोरपाटनका ५ सय ४७ बचतकर्तामध्ये १ लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मीना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ ।
गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये ५ सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका छन् । सहकारीका बचतकर्ताले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् ।
बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रूपैयाँबराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ ।
पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस्