शाइन बैंकको आयोजनामा ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता



श्यामलाल पोखरेल । बुटवल ।

बुटवलको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य काम वित्तीय क्षेत्रको कारोबार हो । वित्तीय क्षेत्रसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शाइन सामाजिक क्षेत्रमा पनि क्रियाशील छ । सामाजिक क्षेत्रमा सहयोगी बन्दै आएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद र सञ्चारको क्षेत्रमा पनि काम गर्दै आएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको छ । ‘रन टु शाइन’ भन्ने मुख्य नाराका साथ बैंकले ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको हो । कखरा इभेन्टको व्यवस्थापनमा प्रतियोगिता हुनेछ ।

शाइन बैंकले शनिबार बुटवलको हेड अफिसमा पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले उक्त प्रतियोगिताबारे जानकारी गराएका छन् । बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रूपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागिएको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशि ५ लाख रूपैयाँ राखिएको छ । प्रतियोगितामा खुला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथिका गरी तीन विधामा प्रतियोगिता हुनेछ ।

बैंकका प्रमुख कार्यकरी अधिकृत प्रकाश पौडेलका अनुसार प्रतियोगितामा पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रूपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौँ हुनेले जनही १० हजार रूपैयाँ प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागिता बढाउन ५ किलो मिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिका गरी दुई विद्यामा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक वेबसाइटबाट पनि नाम दर्ता गराउने सुविधा छ । उक्त दौड प्रतियोगिता बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रीय कार्यालयमा फर्केर समापन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरूको समन्वय र सहकार्य हुने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । वित्तीय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको लोकप्रिय बैंकको रूपमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले विभिन्न सामाजिक क्रियाकलापमा आपूmलाई अग्रणी रूपमा सामेल गराउँदै आएको छ ।

यसैको निरन्तरता स्वरूपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गरिएको बैंकले बताएको छ । प्रतियोगिताको व्यवस्थापनका लागि कखरा इभेन्टका हिमबिक्रम केसीसँग बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले लिखित सम्झौता गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार