‘प्रदेश खारेज गरौँ, शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरौँ’



श्यामलाल पोखरेल । बुटवल ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रदेश खारेज गरी शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गर्नुपर्ने बताएका छन् । शुक्रबार बुटवलमा सम्पन्न अखिल नेपाल किसान महासंघको चौथौ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालीले समयमै संघीयता खारेज नगरे संघीयताले देश नै खारेज गर्ने अवस्था आउने बताए ।

उनले नेपालमा संघीयता असफल भइसकेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाले आगामी चैत्र २४ गतेदेखि संघीयताविरुद्ध आयोजना गरेको काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरे । नेपालमा संघीयता घुसाएर भारतले आफूअनुकूल साम्राज्य जमाउन खोजेको बताउँदै भारतको डिजाइनमा आएको संघीयताले देश कमजोर भइसकेको बताए । संघीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो । उनले भारतले नेपाललाई आफू अनुकूलको प्रान्त बनाउन खोजेको बताउँदै भारत नेपालको हितमा नभएको बताए ।

भारतले नेपाललाई अस्थिर बनाएर राज गर्न खोजेको उल्लेख गर्दै उनले भारतले नेपाललाई सिक्किमीकरण गर्न खोजेको दाबी गरे । देशमा राष्ट्रिय उद्योग धन्दाको विकास र कृषिको आधुनिकीकरणमा सरकारले कुनै ध्यान नदिएको बताउँदै यो सरकारले किसानका समस्या समाधान गर्न नसक्ने उनले बताए । अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले संविधानले किसनालाई पूर्ण अधिकार नदिएको बताए । उनले संविधान र सरकार किसानको पक्षमा नभएको दाबी गर्दै सरकारले किसानका समस्या बुझ्न नसकेको बताए ।

किसान नेता रेग्मीले सरकारको डाटा अनुसार नेपालमा ६३ प्रतिशत किसान रहको र ६३ प्रतिशत किसानका लागि कृषि क्षेत्रलाई सरकारले ३ प्रतिशत मात्रै बजेट छुट्याएर किसानहरूलाई सरकारले नै अन्यायमा पारेको बताए । वर्ग संघर्षको माध्यमबाट किसान मजदुरहरूका समस्या हल गर्नुपर्ने बताउँदै उनले भने, ‘किसानहरूको पक्षमा राष्ट्रिय कृषि उद्योगधन्दाको विकास हुनुपर्छ ।’ उनले विज्ञान र प्रविधिको विकासले कृषिमा आधुनिकीकरणको गति बढ्न थालेको बताउँदै कृषिको वर्तमान अवस्थामा परिवर्तन गर्न सामन्ती र औपनिवेशिक शोषण र जमिन माथिको सामन्ती स्वामित्व अन्त्य गर्नुपर्ने बताए ।

प्रदेश चलाउने खर्चले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिने भएकाले प्रदेश खारेजका लागि किसान मजदुरहरूलाई संगठित गर्नुपर्ने तर्क गरे । संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाले आयोजना गरेको काठमाण्डौ केन्द्रित आन्दोलनमा देशभरका सचेत किसानहरूलाई उक्त आन्दोलनमा सहभागी गराउने बताउँदै संघीयताको बिरोधमा उत्रन सबै किसानहरूलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गंगालाल सापकोटा, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य शंकर पोखरेल, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य छितिजा राहाडी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अखिल छैठौंका केन्द्रीय सदस्य माधव विश्वकर्मा, अन्टुकका केन्द्रीय सदस्य टिकाराम पौडेल लगायतले बोल्दै देशको सम्वृद्धिको आधार कृषिमा लागेका किसानहरू भएपनि सरकारले किसानमुखी काम गर्न नसकेको बताए ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष शिव पौडेलको स्वागत र महासचिव तुल्सी सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले पुनः भैरवराज रेग्मी अध्यक्ष रहेको २१ सदस्य केन्द्रीय समिति र ५ सदस्य रहेको सल्लाहाकार समिति चयन गरेको छ ।

जसको उपाध्यक्ष शिव पौडेल, महासचिव तुल्सी सापकोटा, सचिव बिरबहादुर जिसी र कोषाध्यक्षमा केबी रहेका छन् । त्यस्तै सदस्यहरूमा रुकबहादुर कुवँँर, सावित्रा रेग्मी, ओमेन्द्र कुवँर, गाोपाल पौडेल, राजेन्द्र गैरे, चन्द्र सापकोटा, हेमराज पौडेल, रामप्रसाद भुसाल, राजकुमार चौधरी, दिप गोले, भिम आचार्य, विष्णु आचार्य लगायत निर्वाचित भएको निर्वाचन समितिका सदस्य टानबहादुर केसीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार