आफैँले पढेको विद्यालयलाई सहयोग



रूकुम पश्चिम ।

आठबिसकोट नगरपालिका–१ निवासी भक्तबहादुर बुढाले आफैँले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेका छन् । नेपाली सेनामा कार्यरत बुढाले आफूले पढेको श्री शाईकुमारी माध्यमिक विद्यालयलाई पानी शुद्धिकरण गर्ने मेसिन र उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् ।

बुढाले आफूले ज्ञान आर्जन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा एकदमै खुसी लागेको बताए । नेपाली सेनाको हवल्दार पदमा कार्यरत बुढा कंगो देशको शान्ति मिसनबाट सफलतापूर्वक स्वदेश फर्केपछि उक्त सहयोग गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर विकका अनुसार विद्यालयका पूर्व विद्यार्थी बुढाले बालविकास कक्षा देखि कक्षा ५ सम्मका सम्पूर्ण बालबालिका र कक्षा ६ देखि १० सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् ।

करिब ६० हजार मूल्य बराबरका कापि, कलमको साथमा पानी शुद्धिकरण गर्ने मेसिन विद्यालयलाई हस्तान्तरण गरिएको सहयोगी भक्तबहादुर बुढाले बताए । उनको उदाहरणीय र प्रेरणादायी विद्यालय कार्यसमितिले प्रशंसा गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष देव बहादुर घर्ती, स्थानीय अगुवाहरू, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार