दाङ, लुम्बिनी प्रदेशको आठौँ स्थापना दिवस भव्य रुपमा मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो । सोमबार प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी)मा भप्य रुपमा आयोजना गरेर विविध कार्यक्रम गरी दिवस मनाइएको थियो । दिवसको मूल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयगत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको हो ।
लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताए । उनले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दामाथि कोही नहुनेमा जोड दिए । ‘यो जनताको शासन हो । यहाँ जनता नै जनार्दन हुन्’ उनले भने,‘जन भावना अनुसार नै काम कारबाही अघि बढ्नुपर्छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको बताए । उनले ७ वर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब ११० को संख्यामा कानुनहरु निर्माण गरेको जानकारी दिए ।
नेपालको संविधानबाट प्राप्त अधिकारको सीमाभित्र रहँदै प्रदेशका काम कारबाही अघि बढाउन, प्रदेश सकारको सञ्चालन र व्यवस्थापनका लागि कानुनी एवम् वैधानिक आधार तयार भएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
प्रदेश तहमा अझैं धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको, संघीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए । ‘गाली हामीले खानुपर्ने, अधिकार काठमाडौंमा राख्नुपर्ने’ उनले भने, ‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर अझैं अधिकार माथि नै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा उनको छ ।
प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धता चाहिने बताए । ‘समृद्ध प्रदेशको लक्ष्य प्राप्ति गर्न प्रदेश सरकार सफल भएको छ । अझ यसलाई अघि बढाउन सबैको बीचमा साझा प्रतिबद्धता र प्रयासको खाँचो छ’ उनले भने, ‘प्रदेशलाई कानुनी रुपमा बलियो बनाउन केही ऐनहरु अझै बनाउन बाँकी छन् । ती ऐनलाई पुरा गर्ने जिम्मेवारी प्रदेश सरकारमा छ ।’
पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल सावित गर्न अझै ऐतिहासिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे । ‘प्रदेशको सुरुवाती दिनलाई सम्झदा र अहिलेलाई तुलना गर्दा धेरै ऐतिहासिक काम भएका छन् । इतिहासलाई जोगाई राख्नुपर्ने छ’ उनले भने, ‘प्रदेश राजधानी कार्यान्वयन, प्रदेशको नामाकरण जस्ता विषयहरु प्रदेशले टुंग्याएर संघीयताको सही कार्यान्वयनको उदाहरण दिन सक्यो । यो नै ठूलो उपलब्धी हो ।’
नेकपा एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताएका थिए । राजनीतिक अस्थिरता हटाउँदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनी भएको उनको भनाइ थियो । प्रदेश स्थाना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जसमध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्