श्यामलाल पोखरेल,बुटवल : निःशुल्क रुपमा रगत उपलब्ध गराउन सरोकारवालाले सरकारसँग माग गरेका छन् । मानिसको जीवन बचाउने रगतको मूल्य लिन नहुने उनीहरुले बताएका छन् । शनिबार बुटवलमा सम्पन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको १२औँ वार्षिक साधारण सभामा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिहरुले नागरिकबाट रगतको पैसा असुल गर्ने काम तत्काल बन्द गर्न तीनै तहका सरकारसँग माग गरेका हुन् ।
कुनै स्थानीय सरकारले आफ्ना नागरिकलाई रगत निःशुल्कको व्यवस्था गरेकारले अब सबै स्थानीय सरकारहरुले रगतमा लाग्ने कुनै पनि शुल्क नलिन आग्रह गरेका हुन् ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्यमा बुटवल हब बनेकाले सहज रुपमा रगत उपलब्ध गराउनु पर्ने र त्यसका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बुटवलले बुटवलबाहेक अन्य १६ जिल्लाको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले स्वास्थ्य संस्थाहरु अझै व्यवस्थित गरेर सेवा दिनुपर्नेमा जोड दिए । उनले बुटवलका ब्लड बैंकलाई अत्याधुनिक तथा आधुनिक ब्लड बैंक बनाउन बुटवल उपमहानागरपालिका सबैसँग सहकार्य गर्ने बताए ।
उनले कोभिडको समयमा बुटवलमा रगतको अभाव नभएको स्मरण गर्दै रगत उपलब्ध गराउन रातदिन खट्ने नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका पदाधिकारी, सदस्य, ब्लड बैंक र रक्तदाताहरुलाई धन्यबाद ज्ञापन गरे ।
ब्लड बैंकको थप व्यवस्थित गर्नुपर्ने बताउँदै मेयर पाण्डेयले भने, ‘ब्लड बैंकका लागि बैकल्पिक ठाउँको खोजी गरी छिटो निर्णय गर्नुपर्छ, स्थानीय सरकारको तर्फबाट सहयोग हुन्छ ।’
बुटवल उपमहानगरपालिकाले शुरुदेख नै स्वास्थ्य क्षेत्रमा गम्भीर भएर बुटवलका ८३ स्थानबाट स्वास्थ्य सेवा दिएको बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सबै नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउनु पर्ने बताउँदै यो वा त्यो बाहानामा रगतको पैसा लिन नपाइने बताए ।
उनले स्वास्थ्यको विषयमा तीनै तहका सरकारलाई संवेदनशील बनेर रगत निःशुल्क उपलब्ध गराउन माग गरे । अध्यक्ष चौहानले १ सय ४२ पटक रक्तदान गरेर सेवा प्रदान गरेको जानकारी गराए । नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले रक्तदान गर्नुपर्छ भन्ने बानीको विकास गर्न आमनागरिकमा सचेतान ल्याउनु पर्नेमा जोड दिए ।
नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले रगतको अभाव गराउन नहुने बताउँदै अब टोलटोलमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए । वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखामा विगत २६ वर्षदेखि कार्यरत निरन्जन राजभण्डारी र रक्तदाता युवाहरु कमल भण्डारी र सुमन घिमिरेलाई सम्मान गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही सचिव अर्जुन पौडेलले जानकारी गराएका छन् ।
कार्यक्रममा रुपन्देही ब्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, मानव अधिकार तथा शान्ति समाज रुपन्देही अध्यक्ष अर्जुन ज्ञवाली, समाजका सल्लाकार डाक्टर राजेन्द्रप्रसाद बश्याल, स्वयंसेवी रक्तदाताहरु मिठु टण्डन भण्डारी, प्रकाश खनाल, समाजका उपाध्यक्ष उदय भट्टराईले बोल्दै रक्तदान कार्यक्रममा सबैलाई जोडिन आग्रह गरेका थिए ।
समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता र सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही विगत लामो समयदेखि हरेक महिनाको अन्तिम शनिबार नियामित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । ‘रगत नपाए बुटवल जानु’ भन्ने नाराका साथ रक्तदान अभियान चलाएको समाजले रक्तदान अभियानलाई निरन्तरता दिएको छ ।
समाजमा अहिले २०७२ को विनासकारी भूकम्प र कोरानाको समयमा बुटवलमा रगत संकलन गरेर काठमाण्डौँसमेत रगत पुराएको अध्यक्ष चौहानले बताए । रगत नपाए बुटवल जानु भन्ने नारालाई सार्थकता बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
रगत नपाए बुटवल जानु भन्ने नारा पूरा गर्ने गरी रगत दिन मिल्ने सबै नागकिलाई रक्तदान कार्यक्रममा सहभागिता गराउन घरघरमा सन्देश पुराउने गरी कार्यक्रम गरिने समाजका सचिव अर्जुन पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्