भौतिक तथा शैक्षिक सुधार गर्दै तक्षशिला एकेडेमी



कोहलपुर :  कोहलपुर–१० स्थित तक्षशिला एकेडेमीले विद्यालयको भौतिक संरचना तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सुधारात्मक कार्यक्रम अगाडि बढाएको छ । जसअन्तर्गत विद्यालयले भौतिक संरचना विस्तार, हरियाली प्रवद्र्धन तथा आधुनिक प्रविधिको उच्चतम् प्रयोगमा जोड दिएको छ ।

नयाँ शैक्षिक सत्रदेखि विद्यालयले पीजी (प्ले गु्रप)देखि नै हरेक कक्षामा स्मार्ट बोर्ड राखेर अध्यापन गराउने योजना बनाएको छ । कोहलपुरमा उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्देश्यले व्यापक भौतिक तथा शैक्षिक सुधार थालिएको तक्षशिला एकेडेमीका सञ्चालक समितिका  अध्यक्ष विष्णुु प्रसाद बेल्बासेले जानकारी दिए ।

विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्ने योजनाका साथ संरचना थप गर्नुका साथै नयाँ कोर्ष डिजाइन तथा वृक्षरोपण जस्ता कार्यक्रमलाई तीव्रता दिएको छ । शैक्षिक प्रक्रियालाई प्रभावकारी बनाउन साना कक्षाहरू देखि नै व्याहारिक शिक्षा दिने, शिक्षण प्रक्रियामा प्रविधि प्रयोगलाई जोड दिने जस्ता कुरालाई प्राथमिकतामा राखिएको छ ।

‘शिक्षण सिकाइलाई प्रभावकारी बनाउन उच्चतम आधुनिक प्रविधिको प्रयोग अनिवार्य छ,’ अध्यक्ष बेल्बासे भन्छन्, ‘त्यसैले आगामी वर्षदेखि सबै कक्षामा स्मार्ट बोर्ड राख्न लागेका छौँ ।’ यसअघि केही कक्षाहरूमा मात्र स्मार्ट बोर्डका माध्यमले पठनपाठन भइरहेकोमा अब सबै कक्षामा अनिवार्य गर्न लागिएको उनले जानकारी दिए । त्यस्तै, कक्षाकोठालाई वातानुकूलित बनाउन एसी जडानको काम पनि धमाधम भइरहेको छ ।

विद्यालयले प्ले गु्रपलाई एउटा छुट्टै सेक्सनमा राखेर पढाउनका लागि कक्षा व्यवस्थापन गरिहेको छ । विद्यालय भवनको तल्लो तलाको आधा भागलाई पार्टेसन गरेर त्यसलाई पिजी गु्रपका लागि छुट्टै व्यवस्था गर्न लागिएको विद्यालयले जनाएको छ ।

आगामी शैक्षिक सत्रदेखि विद्यार्थीको रुचिअनुसारको अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारीसमेत विद्यालयले गरेको छ । ‘यसका लागि कक्षाकोठा व्यवस्थापनको काम भइरहेको छ,’ अध्यक्ष बेल्वासेले भने, ‘भवनको माथिल्लो भागमा ट्रस बनाएर कक्षाकोठा निकाल्दै छौँ ।’ विद्यालयले हरियाली प्रवद्र्धनलाई समेत प्राथमिकता दिएको छ ।

विद्यालय हाताभित्र विभिन्न रैथाने जातका करिब दुई सय नयाँ बिरुवा रोपिएको छ जसमा वर, पिपल, समी तथा आँप, अम्बा, अमला, सुन्तलाजस्ता फलफूलका बिरुवा छन् । केही स्याउका बेर्नासमेत रोपिएको बेल्बासेले बताए । यसबाट हरियाली प्रवद्र्धन हुनुका फलफूल उपयोगसमेत गर्न सकिने उनको धारणा छ ।

विद्यालयले भोलि माघ २१ गते सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरभित्र सरस्वतीको मूर्ति स्थापना गर्दै छ । सरस्वती पूजाको अवसर पारेर एक समारोहका बीच सरस्वतीको प्राण प्रतिष्ठा गर्न लागिएको बेल्बासेले जानकारी दिए ।

‘विद्यालयलाई साँच्चै विद्यालयजस्तै बनाउने हाम्रो अभियान हो,’ उनले भने, ‘त्यसैले विद्यालयको भौतिक र शैक्षिक वातावरणमा थप जोड दिएका हौँ ।’ विद्यालयमा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरिने उनले बताए ।

२०७३ सालमा स्थापना भएको तक्षशिला एकेडेमीमा हाल ८ सय हाराहारी विद्यार्थी अध्ययनरत् छन् । तर अहिलेकै संरचनामा पनि १ हजारभन्दा बढी विद्यार्थीलाई अध्यापन गराउन सक्ने क्षमता विद्यालयसँग भएको बेल्वासेको दाबी छ ।

विद्यालयले शिक्षण प्रक्रियामा पनि केही सुधारको योजना बनाएको छ । जसमा विद्यार्थीको रुचिअनुसारको अतिरिक्त कक्षा सञ्चालन, कोर्सका अतिरिक्त नयाँ पाठ्यक्रमको तर्जुमा, व्यावहारिक सिकाइमा जोड, प्रयोगात्मक कक्षा सञ्चालन जस्ता कुरा प्राथमिकतामा राखिएको छ ।

 

नयाँ सत्रबाट नर्सरी र एलकेजीको पाठ्यक्रमलाई मिलाएर एक वर्ष पीजी र एलकेजी र युकेजीको पाठ्यक्रमलाई मिलाएर अर्को वर्ष केजी कक्षा सञ्चालन गर्ने तयारी छ । जसले विद्यार्थीको एक वर्षको समय बचत हुने विद्यालयका प्रधानाध्यापक भीमबहादुर रोकायाले बताए । ‘आगामी शैक्षिक सत्रदेखि नै हामीले यसको अभ्यास गर्ने तयारी गरेका छौँ,’ प्रधानाध्यापक खत्रीले भने, ‘त्यसका लागि कम्बाइन नयाँ कोर्स डिजाइन भइरहेको छ ।’

विद्यार्थीहरूलाई पाठ्यक्रमका अलावा अतिरिक्त कक्षा नै सञ्चालन गर्ने तयारी गरिएको रोकायाले बताए । ‘आगामी सत्रदेखि संगीत, गायनलगायका विद्यार्थीको रुचि अनुसारका विषयमा अतिरिक्त कक्षा नै सञ्चालन गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि कक्षाकोठा व्यवस्थापनको काम भइरहेको छ ।’

विद्यार्थीहरूलाई पाठ्यक्रमका अलावा व्यावहारिक शिक्षामा जोड दिने गरिएको उनले दाबी गरे । ‘कतिपय कुरा पाठ्यक्रममा हुँदैनन् तर व्यावहारिक जीवनमा अनिवार्य छन्,’ उनी भन्छन्, ‘विद्यार्थीलाई त्यस्ता कुरा पनि सिकाउनु जरुरी छ ।’

विद्यार्थीहरूलाई आफ्नो काम आफैँ गर्ने अभ्यासको विकास गर्न सानातिना काम उनीहरूलाई गर्न लगाउने गरिएको रोकायाको भनाइ छ । ‘हामी साना बालबालिकालाई पनि जुत्ताको तुना बाँध्ने, जुत्तामा पालिस गर्ने, आफ्नो टिफिन आफैँ सफा गर्नेजस्ता काम गर्न लगाउँछौँ,’ खत्री भन्छन्, ‘जसले गर्दा पछि गएर उनीहरूलाई ससाना काममा पनि परनिर्भर बन्नु नपरोस् ।’

विद्यालय परिसरमा रहेको केही खाली जग्गामा तरकारी खेती गरिएको छ जसमा विद्यार्थीलाई नै त्यहाँ खन्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेजस्ता जिम्मा सुम्पिएको छ । ‘ठूला कक्षाका विद्यार्थीलाई पालैपालो यसको जिम्मा दिन्छौँ,’ प्रधानाध्यापक रोकाया भन्छन्, ‘यो पनि उनीहरूका लागि एउटा महत्वपूर्ण सिकाइ हो ।’

समय–समयमा विद्यार्थी, शिक्षक र कर्मचारी मिलेर गाउँ टोलको सरसफाइ गर्ने, ट्राफिक सचेतनाका लागि सडकमै लगेर विद्यार्थीलाई डेमो देखाउने गरेको छ । यसरी फिल्डमै गएर यसबारे बताउँदा सिकाइ प्रभावकारी हुने रोकाया बताउँछन् ।

विद्यार्थीलाई आउट डोर खेलहरू स्विमिङ, फुटसल, बास्केट बलका साथै इन्डोरका चेस र लुडोजस्ता खेल पनि खेलाउने गरिएको छ । तक्षशिलाका विद्यार्थीहरूले विभिन्न खेलमा सक्रिय सहभागिता पनि जनाउँदै आएका छन् । ‘हामी विद्यार्थीलाई लुडो पनि खेलाउँछौँ, तर बोर्डमा,’ रोकाया भन्छन् ।

पाठ्यक्रमका अलावा व्यावहारिक र जीवनोपयोगी शिक्षण सिकाइमा जोड दिइएको खत्रीको दाबी छ । विद्यालयमा रहेको लाइब्रेरीमा फरकखाले पुस्तक राख्ने गरिएको छ जसबाट विद्यार्थीलाई शिक्षाका अलावा पे्ररणा पनि मिलोस् भन्ने उद्देश्य राखिएको छ । सफलताका कथा, प्रेरणादायी व्यक्तित्वका जीवनी, स्थानीय लेखकका कृतिलगायतका पुस्तक लाइबे्ररीमा छन् । ‘यसबाट विद्यार्थीले ज्ञानका अलावा प्रेरणा पनि पाउँछन्,’ रोकाया भन्छन् ।

पछिल्लो समय विद्यालय तहदेखि नै बालबालिका दुव्र्यसनीको सिकार हुने गरेको पाइन्छ । शिक्षक र अभिभावकको लापरबाहीका कारण कतिपय बालबालिका यसको दलदलमा फस्दै गएका छन् । तर आफ्नो विद्यालयमा अहिलेसम्म यस्तो समस्या नदेखिएको प्रधानाध्यापक रोकायाको भनाइ छ । ‘तर विद्यार्थीमा मोबाइल खेलाउने समस्या अत्यधिक देखिएको छ,’ उनी भन्छन्, ‘प्रायः सबै अभिभावकको यही गुनासो हुन्छ ।’ यसका लागि सर्वप्रथम अभिभावक नै सचेत हुनुपर्ने उनको भनाइ छ । ‘अभिभावकले बच्चालाई पढ् भन्ने तर आफू चाहिँ मोबाइल खेलाउँदै बस्ने गर्नु भएन,’ उनले अभिभावकलाई सुझाव दिँदै भने, ‘बच्चालाई पढ्न लगाएपछि आफू पनि किताब लिएर बसिदिनुप¥यो नभए पनि बच्चासँग सँगै बसिदिनुप¥यो ।’

तीव रूपमा बढ्दै गएको यो समस्या न्यूनीकरणका लागि विद्यालयले केही उपाय अवलम्बन गरेको पनि रोकायाले बताए । मोबाइलको अत्यधिक प्रयोगबारे सचेत गराउने उद्देश्यले विद्यालयले बेलाबेलामा अभिभावकसँगै बच्चाहरूलाई डकुमेन्ट्रीसमेत देखाउने गरेको रोकायाले जानकारी दिए । ‘मोबाइलको अत्यधिक प्रयोगबाट हुने खतराबारे हामीसँग एउटा डकुमेन्ट्री छ,’ उनले भने, ‘बेलाबेलामा त्यो देखाएर अभिभावक र बच्चा दुवैलाई सचेत गराउने गरेका छौँ ।’

पाठ्यक्रम र शिक्षण सिकाइ व्यावहारिक जीवनका लागि उपयोगी हुनुपर्नेमा अध्यक्ष बेल्बासे र प्रधानाध्यापक रोकायाको दुवैको समान धारणा छ । कोहलपुर नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमका विषयमा पनि केही सुधार आवश्यक भएको उनीहरूलाई लाग्छ । पाठ्यक्रममा नैतिक, व्यावहारिक तथा पूर्वव्यावसायिक शिक्षाका सामग्री अभाव रहेको उनीहरूको भनाइ छ ।

‘स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा, पूर्वव्यावसायिक शिक्षाका विषयबस्तु बढी समेट्नुपर्ने हो,’ अध्यक्ष बेल्वासेको सुझाव छ, ‘तर त्यो पाइँदैन । आगामी दिनमा यो कुरामा विचार पु¥याउनुपर्छ ।’ स्थानीय पाठ्यक्रममा कतिपय विषयको डुब्लिकेसनसमेत भइरहेको प्रधानाध्यापक खत्री बताउँछन् । ‘स्वास्थ्य र सामाजिकमा भएका कतिपय विषय नै स्थानीय पाठ्यक्रममा पनि समेटिएको पाइन्छ,’ प्रधानाध्यापक रोकाया भन्छन् । कोहलपुरमा अन्य जिल्ला र पालिकाका आएका विद्यार्थी अध्ययनरत रहेकाले यहाँको स्थानीय पाठ्यक्रम उनीहरूका लागि त्यति उपयोगी नदेखिने गरेको उनको भनाइ छ ।

‘बैजनाथको विद्यार्थीले स्थानीय पाठ्यक्रममा ‘हाम्रो कोहलपुर’ भनेर पढिरहनुपरेको छ,’ खत्री भन्छन्, ‘तर आफ्नै पालिकाका बारेमा उसलाई थाहा हुँदैन ।’

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार